
काठमाडौं । स्वास्थ्यको कारण देखाउँदै हलिउड गायक जस्टिन बिबरले आफ्नो चर्चित ‘जस्टिस वर्ल्ड टुर’लाई पुनः स्थगित गरेका छन् ।
गत जुनमा अनुहार पक्षघात पार्ने भाइरस रामसे सिन्ड्रोमको संक्रमण पुष्टि भएपछि उनले यसअघि पनि सांगीतिक टुर रोकेका थिए । तर स्वास्थ्यमा सुधार आएसँगै उनले पुनः टुर गरेका थिए ।
तर ब्राजिलमा गत साता कन्सर्ट गरेपछि बिबरले आफ्नो प्राथमिकता स्वास्थ्य भएको बताएका थिए । बुधबार मात्रै सामाजिक सञ्जालमा एक नोट सेयर गर्दै बिबरले फ्यानलाई खराब स्वास्थ्यको कारण आफ्नो कन्सर्ट पुनः रोक्नुपरेको बताएका छन् । साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने फ्यानहरुलाई धन्यवाद दिएका छन् ।
लगातार ६ वटा लाइभ शो गर्दा आफ्नो स्वास्थ्यमा असर पुगेको उनले इन्स्टाग्राम नोटमा उल्लेख गरेका छन् । ‘पछिल्लो साता मैले ब्राजिलका जनतालाई मनोरञ्जन गराउन कुनै कसर बाँकी राखिनँ । मैले रियोमा रक पर्फमेन्स पनि गरें । त्यसपछि मलाई धेरै थकान महसुस भयो । त्यसबेला मलाई लाग्यो कि यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नु जरुरी छ,’ उनी लेख्छन् ।
यही कारण आफूले टुरबाट विश्राम लिने निर्णय गरेको जसिटनले उल्लेख गरेका छन् । जस्टिन वर्ल्ड टुर गत मार्चमा लन्च भएको थियो । जसमा दक्षिण अमेरिका, एसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड र युरोपमा मार्च २०२३ सम्म चल्ने ७० शोको योजना गरिएको थियो ।
प्रतिक्रिया 4