
२२ भदौ, काठमाडौं । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कर्मचारीहरुलाई मेयरको इच्छाशक्ति अनुसार काम गर्न अनुरोध गरेका छन् ।
पदबहाली गर्दै मेयर बालेन्द्र साह (बालेन)को काम गर्ने तीव्र इच्छा शक्तिलाई कर्मचारी तहबाट दरिलो साथ दिनुपर्ने बताएका थिए । महानगरका विभागीय प्रमुखहरुसँग रिर्पोटिङ लिँदै उनले प्रशासनिक र आर्थिक निष्पक्षतामा चुस्त हुनुपर्ने बताएका थिए ।
‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ,‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
अधिकारी भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए । काठमाडौँ महानगरमा आउनु अघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।
यस्तै महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।
प्रतिक्रिया 4