
२३ भदौ, भैरहवा । २ जेठ २०७९ बाट सञ्चालनमा आएको हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ ।
त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । यात्रु आउने दिनका विहानी प्रहरमा भने विमानस्थलका भित्र अध्यागमन, कार्गो, भन्सार, ग्राउन्ड ह्यान्डलिङका कर्मचारीहरुलाई कामको चटारो हुन्छ । त्यसबाहेकका बेलामा भने उनीहरु फुर्सदमा हुन्छन् ।
विमान आएका बेलामा टर्मिनलको अग्रभागमा कर्मचारीका फाटफुट साइकल, मोटरसाइकल, केही मोटर र सुरक्षाकर्मी मात्र देखिन्छन् । तर, उडानका समयमा भने विमानस्थलमा चलहपहल बाक्लिन्छ ।
यात्रु छोड्न आउने र लिन आउनेहरु विमानस्थल परिसरमा स्वागत र विदाइ गरिरहेका दृश्यहरु देखिन्छन् ।
सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको मुख्य कारण हो, बुद्धको जन्मस्थलमा विश्वभरबाट आउने सम्भावित पर्यटक । तर अहिलेसम्म विमानबाट लुम्बिनीलाई लक्षित गरेर भैरहवा उत्रने विदेशी नगण्य छन् ।
विमानस्थल कार्यालयका प्रमुख गोबिन्द दाहालका अनुसार ९५ प्रतिशत यात्रु वैदेशिक रोजगारीका लागि जाने र आउने छन् । वैदेशिक रोजगारीमा कुवेत जाने-आउने प्रदेश १, मधेश प्रदेश र लुम्विनी प्रदेशका नेपाली यात्रुहरुले भैरहवा रोजिरहेको विमानस्थलले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा सहज र स्तरीय खालको सेवा सुविधा आवश्यक हुन्छ । भैरहवा क्षेत्रको सडक, सार्वजनिक यातायातसेवा र अन्य पूर्वाधार चुस्तदुरुस्त छैन ।
यात्रुहरु विमानस्थल आउने साधन नपाएर मिनी ट्रक लिएर विमानस्थल पुगेको दृश्यले आँखा बिझाउँछ । विमानस्थलको आगमनतर्फको भाग पनि साँघुरो छ ।
यसले गर्दा विमानबाट ओर्लिएका यात्रुहरु खुला आकाशमुनि नै लाम लाग्छन् । उडान नहुँदा शुन्य रहने विमानस्थल यात्रु आएपछि साँघुरो टर्मिनलका कारण समस्या पर्छ ।
बाहिर कुरिरहेका यात्रुलाई विमानस्थल लिन आएकालाई प्रतिक्षालय पनि छैन । यसले गर्दा यात्रुहरु खुला आकाशमुनि थचक्क बसेर आफन्त कुरिरहेका हुन्छन् ।
भैरहवाको भुईंबाट–१
भैरहवाको भुईंबाट–२
भैरहवाको भुईंबाट-३
भैरहवाको भुईंबाट-४
भैरहवाको भुईंबाट-५
भैरहवाको भुईंबाट-६
भैरहवाको भुईंबाट-७
प्रतिक्रिया 4