+
+
२०१५ को चुनाव-४ :

भू–सेना बनाउने कांग्रेसको २०१५ सालको घोषणापत्र

सागर चन्द सागर चन्द
२०७९ भदौ २३ गते १५:४१

२३ भदौ, काठमाडौं । आफ्नो पार्टीलाई समाजवादी संस्था ठहर्‍याउँदै नेपाली कांग्रेसले पहिलो चुनावी घोषणापत्रको सुरुवातमा ‘नेपाली कांग्रेस समाजवादी संस्था हो’ भन्दै देशलाई एक ठूलो परिवारका रूपमा विकास गर्ने उद्देश्य पेश गरेको थियो ।

घोषणापत्रलाई ‘देशवासीका नाममा पठाएको पत्र’ सन्देशका रूपमा अथ्र्याउँदै नेपाली कांग्रेसले पहिलो घोषणापत्रलाई भूमि र किसानकेन्द्रित बनाएको थियो ।

२०७२ सालको संविधानले नै नेपाललाई समाजवाद उन्मुख भनेको छ । ६४ वर्ष अगाडि लेखिएको कांग्रेसको पहिलो घोषणापत्रमा पनि समाजवादको लक्ष्य टाढा भएको स्वीकारिएको थियो ।

समाजवादको लक्ष्य टाढै रहेको स्वीकार्दै कांग्रेसको पहिलो चुनावी घोषणापत्रमा लेखिएको छ— ‘नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको लक्ष्य अझै टाढै छ । तत्काल नै समाजवादी लक्ष्य प्राप्त गर्ने साधन समाजमा उपलब्ध छैनन् ।’

करिब ६ पृष्ठको व्याख्यान पछि कांग्रेसले आफ्नो घोषणापत्रको सुरुवातमा भूमि र किसानको विषय उल्लेख गरेको थियो । ‘भूमिबाट सामन्ती शोषणलाई अन्त्य गर्नु र किसानको अधिकारलाई सुरक्षित गर्नु’ घोषणापत्रमा लेखिएको छ— ‘वैज्ञानिक ढंग र उपायहरूलाई ग्रहण गरी भूमिको उत्पादन बढाउनु कांग्रेसको मुख्य कर्तव्य हुने ।’

किसानको भलाइ गर्न जंगलको संरक्षण गर्ने, ठूला बिर्ताको राष्ट्रियकरण गर्ने, रजौटा उन्मूलन गर्ने, जमिनदार प्रथा हटाउने र भूमिको अधिकतम सीमा निर्धारण गर्दै अधिक भूमिको पुनर्वितरण गर्ने योजना कांग्रेसको घोषणापत्रमा लेखिएको थियो ।

सहकारी खेतीको सुरुवात गर्न सरकारी सहयोग दिने कुरा पनि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो । घोषणापत्रमा लेखिएको छ— ‘सहकारी खेतीलाई सरकारी प्रोत्साहन, सरकारी मद्दतबाट जमिनमा स–साना टुक्रालाई चकलाबन्दी गर्ने र साना किसानलाई आपसी सहयोगबाट वैज्ञानिक ढंगको खेती गराउने व्यवस्था गरिनेछ ।’

किसानको सहजताका लागि जिल्लामा कृषि बैंक र अन्न कोष बनाएर किसानलाई सस्तो व्याजमा ऋण दिने योजना पनि कांग्रेसको घोषणापत्रमा लेखिएको छ । यसरी बनाइएको बैंक वा अन्न कोष चलाउने जिम्मा भने स्थानीय जनप्रतिनिधिलाई दिइने पनि कांग्रेसको योजना देखिन्थ्यो ।

बाँध, नहर बनाउने र ‘गाउँको उन्नति नै देशको उन्नति’ हो भन्दै नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘गाउँतिर जाउ, गाउँलाई हेर’ भन्ने नारा पनि तय गरेको थियो ।

शासनको विकेन्द्रीकरणको प्राथमिक आधार गाउँलाई बनाउने कुरा पनि घोषणापत्रमा लेखिएको थियो ।

गाउँमा रोजगार नभएका जनतालाई भू–सेना बनाउने योजना पनि कांग्रेसले घोषणापत्रमा लेखेको थियो । घोषणापत्रमा भू–सेनाको भूमिकाबारे लेखिएको थियो— ‘जो नहर, कुलो सडक इत्यादि तथा पर्ती जमिनलाई कृषि योग्य बनाउने काममा नियुक्त हुनेछ ।’ भू–सेनामा भूतपूर्व सैनिकलाई खटाउने योजना कांग्रेसले पेश गरेको थियो ।

अनावश्यक वन र भूमिको अधिकतम सीमा निर्धारण गर्दा बाँकी रहेको जमिनमा भूमिहीन किसानको बसोबासका लागि प्रयोग गर्ने योजना पनि कांग्रेसको पहिलो घोषणापत्रमा देखिन्छ ।

उद्योगधन्दाले देशको सम्पन्नता निर्धारण गर्ने भए पनि यसपालि (२०१५) को चुनावमा नेपाली कांग्रेसले भूमि सुधार र भूमिको उत्थानमा जोड दिएको बताएको थियो । राष्ट्रिय मुद्राको प्रचलन गराउने, साना कुटिर ग्रामीण उद्योग, मझौला र ठूला गरेर तीन प्रकारका उद्योग खोल्ने योजना कांग्रेसको घोषणापत्रमा थियो ।

कुटिर र ठूला उद्योगलाई सरकारले विशेष मद्दत गर्ने तर, मझौला उद्योग विकासको जिम्मा भने उद्योगपतिलाई हुने कुरा कांग्रेसको घोषणापत्रमा छ । कांग्रेसले ठूला उद्योगको विकासका लागि विदेशबाट पूँजी ल्याउने जिम्मा पनि सरकारले लिने वाचा गरेको थियो ।

विदेशी पूँजीलाई संरक्षण गर्ने बताउँदै कांग्रेसले घोषणापत्रमा लेखेको छ— ‘नेपाली कांग्रेस विदेशी सरकार एवं अन्तर्राष्ट्रिय संस्थाहरूबाट ऋण लिने विचारको विरोधी छैन । विदेशी पूँजीलाई पनि प्रश्रय दिइनेछ ।’

मजदुर र मालिकको सम्बन्ध समधुर बनाउन मजदुर ऐन बनाउने योजना कांग्रेसले आफ्नो घोषणापत्रमा लेखेको थियो ।

भ्रष्टाचार हटाउने वाचा गर्दै कांग्रेसले लेखेको छ— ‘नेपाली कांग्रेसको सरकारको प्रण हुनेछ कि भ्रष्ट कर्मचारीलाई कडा सजाय दिने र इमानदार बफादार कर्मचारीको उचित कदर गर्ने व्यवस्था गर्नेछ ।’

शासनको विकेन्द्रीकरण गर्दै गाउँलाई नै शासनयन्त्रको तल्लो खुड्किलो बनाउने भन्दै कांग्रेस लेख्छ– ‘स्थानीय निर्माण कार्य, कुलो नहरको व्यवस्था, इन्तजाम कृषि बैंकको जिम्मेदारी, शिक्षा अस्पतालहरूको सञ्चालन र यातायात प्रवृत्ति काम जिल्लाका प्रतिनिधिहरूको कमिटीले गर्नेछ ।’

यस्तो कमिटीलाई सुरुमा सरकारले सहयोग गरे पनि पछि विस्तारै सम्पूर्ण जिम्मा जिल्लालाई दिने कांग्रेसको घोषणापत्रमा लेखिएको छ । जिल्लाबाट हुने आयको केही हिस्सा जिल्लालाई नै दिने र कम आय हुने जिल्लालाई केन्द्र सरकारले थप रकम दिने कुरा पनि कांग्रेसको घोषणापत्रमा समावेश गरिएको छ ।

बौद्धिक स्वतन्त्रताको रक्षा गर्ने वाचा गर्दै कांग्रेसले आफ्नो पहिलो घोषणापत्रमा लेखेको छ— ‘अहिले निर्वाचनमा मात्र होइन निर्वाचनपछिको शासन व्यवस्था र निर्माण कार्यमा शिक्षित समुदायले ठूलो जिम्मेदारी वहन गर्नुपर्ने हुनाले नै नेपाली कांग्रेस उनीहरूको सरकारीस्तरमा सहयोग लिनेछ र बौद्धिक स्वतन्त्रताको रक्षा गर्ने प्रण गर्दछ ।’

धर्मको विषयमा कांग्रेसले आफ्नो नीति स्पष्ट भएको उल्लेख गर्दै लेखेको छ— ‘नेपाली कांग्रेसको सरकार सबै धर्म मान्नेहरूको साझा हो । तसर्थ सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म र विधि विधान मान्ने र त्यस अनुसार चल्ने पूर्ण स्वतन्त्रता दिनुपर्छ ।’

धर्म मान्ने मामिलामा हस्तक्षेप भएमा त्यसको सुरक्षाका लागि कांग्रेसले आफ्नो पूरा शक्ति लगाउने वाचा पनि गरेको छ । ‘आफ्नो अन्तरात्माले मानेको धर्म पालना गर्न पाउने र त्यसमा कसैले व्यवधान गरेमा त्यसको सुरक्षाका लागि आफ्नो सारा शक्ति लगाउने विश्वास दिलाउँछ’— कांग्रेसको पहिलो घोषणापत्रमा लेखिएको छ ।

पिउनेपानीको व्यवस्था मिलाउने, शिक्षा, स्वास्थ्य र यातायातको राम्रो व्यवस्था गर्ने भनिए पनि कांग्रेसको पहिलो घोषणापत्रमा यसले विशेष स्थान भने पाएको छैन ।

न्याय प्रशासन सर्वसाधारणलाई सरल, निष्पक्ष सस्तो र सुलभ बनाउने वाचा पनि कांग्रेसले गरेको छ । नेपाली कांग्रेसले १५ पृष्ठको घोषणापत्रको अन्त्यमा विदेशनीति राखेको छ ।

समानताका आधारमा सबै राष्ट्रसँग मित्रता बनाउने बताउँदै कांग्रेसले तत्कालीन समयको शीतयुद्धलाई संकेत गर्दै आफू कुनै पनि गुटमा नलाग्ने लेखेको छ । ‘नेपाली कांग्रेस कुनै पनि सामरिक गुटमा लाग्ने छैन’ कांग्रेसको घोषणापत्रमा लेखिएको छ— ‘संयुक्त राष्ट्रसंघको सदस्यताको सदुपयोग शान्तिका लागि गर्ने ।’ चीन र भारतलाई संकेत गर्दै उसले लेखेको छ— ‘आफ्ना महान् छिमेकीसँग पूर्ण मित्रता राख्नेछ ।’

प्रतिनिधिसभाका १०९ सिटमध्ये कांग्रेसले १०८ सिटमा उम्मेदवार उठाएको थियो । १०८ मध्ये कांग्रेसले ७४ सिट जितेर पहिलो पार्टी भएको थियो ।

पहिलो संसदीय चुनावका लागि कांग्रेसले तयार पारेको घोषणापत्रको सुरुवात भने ‘अभिवादन’ बाट गरेको थियो ।

‘नेपाली कांग्रेस नेपालको सर्वप्रथम हुनलागेको आम चुनावको महान् अवसरमा यावत् देशवासीलाई आफ्नो अभिवादन पठाउँछ’— नेपाली कांग्रेसले २०१५ सालको चुनावी घोषणापत्रको सुरुवात देशवासीलाई ‘अभिवादन’ पठाउँछ भन्दै गरेको थियो ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?