
२३ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९/८० को लागि ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँ बजेट पारित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बजेट पेश गरेका थिए ।
कोषका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम सञ्चालन गर्न २४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० रुपैयाँ बजेट छुट्याइएको कोषाध्यक्ष सुवेदीले बताए ।
कोषको बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ ।
कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधीको संरक्षण र संवर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य-सचिव डा. मिलनकुमार थापाले बताए ।
वैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिनेबारे पनि छलफल भएको थियो । गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री जीवनराम श्रेष्ठले बताए ।
प्रतिक्रिया 4