
२४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।
एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँगको भेटमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएको भन्दै मन्त्री शर्माले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।
नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका क्षेत्रमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरे ।
उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।
एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैं हातेमालो गर्ने बताए ।
अर्थमन्त्री शर्माले दिएको मार्गदर्शन अनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।
प्रतिक्रिया 4