
हर झरी, बादल र वर्षामा
तिमीलाई चोकचोकमा
निथ्रुक्क भिजाएर
आफैं दरबार भएका छन्
तिम्रा अनुयायीहरू ।
प्रचण्ड घाम होस् कि
लुगलुगे जाडो
हिउँ, तुषारो या असिना
जे परे पनि पर्ने तिम्रै आङमा हो
उनीहरू त
फेरिरहेछन् दौरा सुरूवाल
र, चलिरहेछ
भागशान्ति जय नेपाल ।
तिमीले देखेको उज्यालो
तिमीले बनाइदिएको आकाश
र, तिमीले टेकेको धरती
बस्, त्यही त हो
वर्तमान समयको प्राप्ति
समयको त्यही घोडा चढेर
तिमीलाई नै चाबुक मार्न उद्धत छन्
ठूला भनिएका
ठूला मानिएका
सबका सब मान्छेहरू ।
भैगो भो,
अरूको त कुरै छाडौं
तिम्रै अनुयायीहरूको भीडमा पनि
तिमीलाई नपढ्नेहरू बहुमतमा छन्
तिमीलाई नचिन्नेहरू बहुमतमा छन्
सुकिला–मुकिलाको युग छ यतिखेर ।
ठूलो हुन
असल नहुनुपर्ने रहेछ
कमसलहरूको फसल
फस्टाएको छ जताततै
कुराको पसल
सपनाको व्यापार
र झुटको खेती
व्यवसाय जस्तै बनेको छ आजकल
बेचेर तिम्रै स्वप्न
भजाएर तिमीलाई नै खुद्राखुद्रामा
सबका सब मालामाल भइसके
उभ्याएर तिमीलाई चोकचोकमा ।
सायद आज पनि आउनेछन्
पोहोर जस्तै, परार जस्तै
केही जोर दौरा सुरुवाल
चोकचोकमै आउनेछन्
र सुनाएर जानेछन्
केही थान अट्टहास
र समाजवादको लोककथा
तिमीलाई नै ।
प्रतिक्रिया 4