
काठमाडौं । आरोप-प्रत्यारोपदेखि निषेधसम्म उत्रिएका नेपाली फिल्मका दुई प्रमुख संस्थाहरुबीच आज अपरान्ह वार्ता हुने भएको छ । विशालनगरस्थित चलचित्र संघको कार्यालयमा निर्माता संघसँग हुने वार्तामा दुवैै पक्षका अध्यक्ष र महासचिव सहभागी हुनेछन् ।
अपरान्ह ३ बजे बोलाइएको वार्ताको नेतृत्व निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले गर्दैछन् । नेपाली फिल्मको वितरण र प्रदर्शन तत्काल कतातिर जान्छ भन्ने कुराको निर्धारण शुक्रबारको ‘विशालनगर’ वार्ताले गर्नेछ ।
वार्तामा निर्माता संघले सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णयलाई फिर्ता गर्ने मागलाई आधारभूत सर्तको रुपमा पेश गर्ने भएको छ । अध्यक्ष खड्काले हल बन्दको निर्णय फिर्ता नभए सहकार्य सजिलो नभएको बताए ।
‘उहाँहरुले हल बन्द गर्ने निर्णय फिर्ता लिनुपर्छ र अघि बढ्न सकिन्छ । नत्र आन्दोलनका विकल्प खुला छन्,’ खड्काले अनलाइनखबरसँग भने, ‘यो कुरा उहाँहरुको मुभमा निर्भर हुन्छ ।’
खड्का नेतृत्वको निर्माता संघको नयाँ कार्यसमितिले पहिलो बैठकमै शुक्रबार मात्र फिल्म रिलिज गर्न पाइने निर्णय गरेपछि प्रदर्शकको छाता संस्था चलचित्र संघ आक्रोशित भएको हो । अर्कोतर्फ, फिल्मको सेन्सर प्रक्रियामा समेत दुःख दिएको आरोप उसको छ । आफ्ना सदस्यहरुलाई मानमर्दन हुन खालका गतिविधि भएको भन्दै चलचित्र संघले आपत्ति जनाएको छ ।
चलचित्र संघका महासचिव महर्जनले विकसित घटनाक्रमलाई लिएर वार्तामा छलफल हुने बताए । ‘हाम्रो मुख्य जोड मिलेर जाने नै हो,’ उनले भने, ‘पेलेर अघि बढे यसले राम्रो गर्दैन ।’
चलचित्र संघ र निर्माता संघबीचको झगडा चर्किएपछि बिहीबार बेलुका बसेको चलचित्र विकास बोर्डको बैठकमा समेत यसबारे समीक्षा भएको थियो । विवाद चर्किएपछि दुवै पक्षलाई छलफलमा बोलाउने अध्यक्ष भुवन केसीले तयारी गरेका छन् ।
शुक्रबार मात्र फिल्म रिलिज गर्ने निर्माता संघको निर्णय र हिन्दी फिल्म सेन्सर नहुँदा ऐना झ्यालको पुतलीलगायतका नेपाली फिल्मको बुकिङसहित शो खुला नगरेको भन्दै दबाब बढेपछि चलचित्र संघ क्रुद्ध भएको हो ।
यो लडाइ पहिलोपटक चाहिँ होइन, आफ्ना स्वार्थलाई लिएर निर्माता र संघ र चलचित्र संघ यसअघि पनि कैंयन पटक आमनेसामने भएका छन् ।
प्रतिक्रिया 4