
वैंसालु उमेरमा प्रेम सम्बन्ध गाँस्नु आश्चर्यको कुरा भएन । प्रेम सम्बन्धमा रहेको बेला दुनियाँको नजर छल्दै भेटघाट गर्ने, माया–पिरतीका मीठा–मीठा बात गर्ने कुरा पनि दुर्लभ रहेन । किनभने प्रेम एक यस्तो संवेगात्मक मोड हो, जुन चरणबाट हरेकजसो व्यक्ति गुज्रिएका हुन्छन् ।
भन्न त प्रेमको कुनै सीमा हुन्न भनिन्छ ।
यद्यपि डेटिङका सन्दर्भमा भने विश्वका कति मुलुकले निश्चित सीमा र सर्तहरु राखेका छन् । खासगरी डेटिङ बहानामा हुनसक्ने सम्भावित यौन दुव्र्यवहार, बलात्कार वा अपराधहरुबाट जोगिन यसमा उमेरको सीमा तोकिएको पाइन्छ ।
अतः विश्वका अधिकांश मुलुकमा १८ वर्षपछि मात्र डेटिङका लागि अनुमति दिइन्छ भने कुनै मुलुकमा १६ वर्षपछि । अर्थात् तोकिएको उमेरपछि मात्र तिमी आफ्नो जीवनका लागि स्वविवेकले निर्णय लिन सक्छौं भनिएको हुन्छ ।
तर हाम्रो कानुनमा यस्तो निश्चित प्रावधान छैन ।
जबकि सन् १९८९ मा संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धि ‘सीआरसी’मा नेपाल पनि एउटा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको छ । त्यो ‘सीआरसी’मा १८ वर्ष भन्दा कम उमेरकालाई ‘बालबालिका’ भनिएको छ । अतः बालबालिकाहरु शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक रूपमा परिपक्व नभएको हुनाले अभिभावक, समाज र राज्यले पनि उनीहरुको संरक्षण गर्नुपर्छ भनिएको छ ।
उनीहरूमा कुनै पनि किसिमको हिंसा, दुव्र्यवहार र अपराध भयो भने सरकार आफैं बादी बनेर उनीहरूको तर्फबाट मुद्दा लड्छ र न्याय दिलाउँछ । यसको अर्थ सरकारले डेटिङको लागि उमेर हद तोकेको नभए पनि यो उमेर उपयुक्त छैन है भन्ने आशय व्यक्त गरेको छ ।
डेटिङमा उमेर हद कति जरुरी ?
अहिले जुन किसिमका घटनाहरु सतहमा देखिन थालेका छन् त्यसले के देखाउँछ भने नाबालिगहरु अरुको प्रभाव वा ललाइफकाइमा परेर आफूलाई दाउमा लगाइरहेका छन् । १६–१७ वर्षका किशोरीमाथि यौनजन्य कृत्य भइरहेका छन् । भावनात्मक खेलबाड भइरहेका छन् । अनिच्छित गर्भधारण, गर्भपतन, जबरजस्ती करणी, हत्या, आत्महत्या यसैका नतिजा हुन् ।
यो बहकिने उमेर हो । अरुले जे भन्छ, त्यही पत्याउने । अरुले जे गर्छ, त्यसैमा विश्वास गर्ने । अरुले जे सिकाउँछ, त्यही मान्ने । त्यसैले उनीहरु यतिबेला चाँडै अरुको प्रभावमा पर्न सक्छन् । अरुको स्वार्थमा जेलिन सक्छन् ।
यो यति कच्चा उमेर हो, जतिबेला उनीहरुमा आफैंलाई सम्हाल्न सक्ने क्षमता हुँदैन । आफूलाई के गरिरहेका छन् ? आफूमाथि के भइरहेको छ ? यो सही वा गलत ? यसलाई कसरी प्रतिवाद गर्ने ? उनीहरु टुंगो गर्न सकिरहेका हुँदैनन् । अतः प्रेमको चक्कर र डेटिङको फन्दामा परेर उनीहरु दुर्घटनामा पर्ने जोखिम हुन्छ ।
यस्ता सम्भावित जोखिमबाट बच्नका लागि डेटिङमा उमेर हद जरुरी हुन्छ । एउटा निश्चित उमेरपछि मान्छेलाई सामाजिक दायरा, कानुनी प्रावधानसँगै जीवनका मूल्य बोध हुन्छ । त्यसैले डेटिङका लागि उमेर हद तोक्न जरुरी छ । यसले डेटिङ र सम्बन्धका कारणले हुने यौनजन्य अपराधलाई निरुत्साहित गर्न सहयोग गर्छ ।
उमेर हद तोकिएपछि यस किसिमको अपराधजन्य कृत्य पूर्ण रुपमा रोकिन्छ भन्ने होइन । तर यसले एउटा जागरण ल्याउँछ, चेतना जगाउँछ । कानुनी सर्तहरु पालना गराउँछ । अतः क्रमशः सम्भावित विकृति नियन्त्रण हुन थाल्छ ।
डेटिङको डर
१८ वर्ष भन्दा कम उमेरका बालबालिका शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक रूपमा परिपक्व नभएको हुनाले उनीहरूले कुनै पनि कुराको निर्णय गर्न सक्दैनन् । त्यसैले उनीहरू एकअर्काप्रति आकर्षित भएर शारीरिक सम्पर्क समेत हुनसक्छ । १८ वर्षभन्दा कम उमेरमा सहमतिमा नै यौन सम्बन्ध भए पनि त्यसलाई कानुनले बलात्कार मान्छ ।
साथै कम उमेरमा डेटिङ गरेर कम उमेरमै विवाह भयो भने पछि परिपक्व हुँदै गएपछि सोच नमिल्ने समस्या पनि हुनसक्छ । कम उमेरमा डेटिङ गर्दा गर्भपतनको घटना बढ्ने, हिंसा, दुव्र्यवहार र अपराधको जोखिम पनि हुन्छ ।
कसले गर्ने निगरानी ?
विश्वको अभ्यासलाई हेर्ने हो भने यसमा प्रहरी प्रशासनले पनि एउटा संयन्त्र बनाएर निगरानी गर्छन् । तर त्यो भन्दा पनि मूल कुरा कानुनी जागरण जरुरी हुन्छ । किशोर पुस्तालाई ज्ञान हुनुपर्छ कि डेटिङ यो उमेरमा निषेध छ ।
घरपरिवारबाट, विद्यालयबाट उनीहरुले यस किसिमको कुरा जान्न सक्छन् । डेटिङको बहानामा हुनसक्ने जोखिम, त्यसले निम्त्याउने दुर्घटनाबारे उनीहरुलाई जानकारी दिनुपर्छ ।
झट्ट सुन्दा धेरैका लागि यो हाँसोको विषय हुनसक्छ, कतिका लागि मामुली पनि । तर डेटिङकै बहानामा भइरहेका कतिपय यौनजन्य कृत्यले समाजलाई अहिले नराम्ररी बिथोल्दैछ । त्यसैले यसमा सर्तकता जरुरी छ ।
(अधिवक्ता थापासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4