
काठमाडौं । यस वर्षको दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार साहित्यकार तथा फिल्मकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ ।
दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार काठमाडौंमा आयोजित समारोहमा सुब्बालाई प्रदान गरिएको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का प्रकाशक थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए ।
सम्मानित भएपछि साहित्यकार सुब्बाले यो पुरस्कारले आफूलाई अझ जिम्मेवार भएर कला र साहित्यमा लाग्ने प्रेरणा दिएको बताए ।
कार्यक्रममा कविहरु भीष्म उप्रेती, सुनिता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लिला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु लगायतले रचना वाचन गरेका थिए ।
प्रतिक्रिया 4