
२४ भदौ, पोखरा । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजनीतिमा युवा पिंढी तयार नभइसकेको बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विचारवान युवापुस्ता राजनीतिमा नआइसकेको बताएका हुन् ।
‘मलाई के लागेको छ भने यो देशमा विचारवान नयाँ पिंढी बनिसकेको छैन । विचारवान पिंढी आजको आवश्यकता हो । साँच्चै हो, युवाहरुले नेतृत्व लिनुपर्छ । तर, विचारवान हुनुपर्छ’ उनले प्रश्न गरे, ‘उमेर भएको, एकदम १६ वर्षे युवालाई जिम्मेवारी दियो भने काम गर्न सक्छ ?’
खनालले राजनीतिमा युवामात्रै नभएर दृष्टिकोणसहितको युवा हुनुपर्ने जिकिर गरे । ‘त्यस्तो कोही युवा आउँछ भने एकदम जिम्मेवारी पूरा गर्न सक्छ’, उनले भने ।
खनालले आफू पनि राजनीतिमा युवाको उपस्थिति हुनुपर्ने पक्षमा रहेको बताए । उनले युवालाई नेतृत्व दिन नै तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा ७० वर्षे उमेर हदबन्दी विधानमै राखेको उदाहरण दिए ।
खनालले आफूलाई राजनीतिमा कुनै पद नचाहिने तर, विचार दिन सक्दासम्म सक्रिय रहने बताए ।
प्रतिक्रिया 4