
एक प्रकाशकका रूपमा धेरै पुस्तकको पाण्डुलिपि हेर्ने र पढ्ने काम मेरो दैनिकी हुने नै भयो ।
यसै क्रममा धेरै वर्षअघि मैले बिल क्लिन्टनले लेखेको ‘गिभिङ’ नामक पुस्तक पढ्ने अवसर पाएको थिएँ । त्यसले मेरो मनमा पछिसम्म पनि गहिरो प्रभाव पारेको थियो । तर त्यो पुस्तक अहिले खोज्दा कतै पाइनँ । मलाई अझै सम्झना छ- एउटा व्यक्ति, संस्था र निजी कम्पनीहरू चाहे उनीहरू जस्तोसुकै हैसियतका किन नहोऊन्, तिनले पनि सानोभन्दा सानो सामाजिक योगदानबाट हामी बाँचिरहेको समयलाई कसरी अझ बढी सुन्दर बनाउन सक्छन् भनेर लेखक क्लिन्टनले त्यहाँ पाठकलाई हौस्याएको र उत्प्रेरित गरेको म सम्झन्छु ।
जोन उडको ‘लिभिङ माइक्रोसफ्ट टू चेन्ज द वर्ल्ड’लाई नेपालीमा माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म अनुवाद गरी ल्याउनुपर्छ भनी पहल गर्ने एक जना व्यक्ति म पनि थिएँ । उडको कामबाट अति प्रभावित भएकाले पनि मलाई उक्त पुस्तक नेपालीमा ल्याउनुपर्छ भन्ने लागेको हो ।
विश्वसङ्गीतका प्रख्यात यू टू ब्यान्डका गायक बोनोले रेड क्याम्पेनमार्फत निजी कम्पनीहरूलाई सामाजिक कार्यमा जसरी जोडे, उनको त्यो तरिका पनि मन परेको थियो । त्यस अभियानअन्तर्गत स्थापित चर्चित ब्रान्डहरूले आफ्ना साबिकका उत्पादनहरू नौलो र रातो आवरणसहितको संस्करणमा निकाल्न थाले । त्यसरी बिक्री, वितरण गरिएबापत प्राप्त रकम विश्वव्यापी स्वास्थ्य सङ्कटबाट प्रभावित मानिसहरूको सहयोगार्थ खर्चिइयो ।
उनीलगायत अन्य यस्तै व्यक्तिहरूको सामाजिक काम देखेपछि मैले एउटा ज्ञान हासिल गरेँ- आफूले जहाँ, जुन काम गरिन्छ, त्यसमार्फत पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ ।
***
किताब तयार हुने क्रममा भगवान् सरले मलाई एक दिन सोध्नुभयो, ‘नीरज, यो किताबबाट मलाई कति रोयल्टी आउला ?’
सामान्यतया लेखकहरूबाट मैले यस्तो प्रश्नको सामना गर्नुपर्दैन । सरबाट पनि यस किसिमको प्रश्न मलाई अपेक्षित थिएन । त्यति बेला मैले भनेँ, ‘सरको किताब २० हजार प्रति त बेचिएला । किताबको मूल्य पाँच सय रुपैयाँ राखे पनि सरलाई २० लाख रुपैयाँ त पक्कै आउला ।’ हामीले पुस्तकको मूल्य ५७५ रुपैयाँ राख्ने निधो गर्यौं ।
त्यसपछि उहाँले भन्नुभयो, ‘हुन त म पूरै रोयल्टी काठमाडौँ इन्सिटिच्युट अ फ चाइल्ड हेल्थ (किओच)को फन्डमा राख्न चाहन्छु । तर मेरो आफ्नो किताब, त्यसमाथि जीवनभर सरकारी जागिरे, प्राइभेटमा त्यति काम गरिनँ । बुढेसकालका लागि खासै त्यति सेभिङ छैन । त्यही भएर आधा रोयल्टी म राख्छु, आधा हस्पिटललाई दिन्छु, हुन्न ?’
हस्पिटलप्रति सरको लगाव र रोयल्टी दिने उदारता भए तापनि उहाँबाटै उक्त हस्पिटल बन्न एक अर्ब रुपैयाँभन्दा बढी लाग्ने भनी उहाँबाटै सुनेको मैले खासै धक्का दिने किसिमको योगदान हुने छाँट देखिनँ । फर्किएर मैले सोच्न थालेँ, गङ्गालाल जस्तो त्यतिका सफल प्रतिष्ठान बनाएको मान्छे, पैसाकै लागि भनेर प्राइभेट क्लिनिक त्यति नगरेको, राजादेखि सर्वसाधारणसम्म गरी १४-१५ हजार मानिसको मुटु चिरेको डाक्टर, हालसम्म सामाजिक रूपमा बेदाग अनि निष्ठावान् मान्छे। त्यस्तो सामाजिक ओज भएको मानिसको बालबालिकाको लागि अस्पताल खोल्ने उद्देश्यमा जोडिन केही हजार मानिस कसरी तयार नहोलान् भन्ने पनि लाग्यो ।
फेरि यो त गङ्गालाल जस्तो अर्को संस्था बनाउने कुरा हो । यसबाट भविष्यमा लाखौँ बालबालिका लाभान्वित हुनेछन् । अनि आयो, उहाँको पुस्तक हृदय को लिमिटेड एडिसन छाप्ने कुरा । त्यसपछि अर्को भेटमा मैले त्यस विशिष्ट संस्करणको सीमित प्रति छाप्ने आफ्नो योजना उहाँसँग आइडिया सेयर गरेँ । र आफैँ रिसर्च पनि गरेँ । किताब तयार पार्ने क्रममा तीनतीन पटक दिल्लीको यात्रासमेत गरेँ । पुस्तकलाई कसरी मूल्यअनुसारको आकर्षक बनाउन र भ्यालु एड गर्न सकिन्छ भनेर लागिपरें ।
सबैभन्दा गाह्रो चाहिँ त्यति बेला भयो, जतिबेला मूल्य कति राख्ने र सीमित संस्करण कति प्रति मुद्रण गर्ने भन्ने निचोडमा पुग्न हम्मेहम्मे पर्यो । हामीबीच धेरै बहस भए । डाक्साबले त मूल्य नराखौँ, हस्पिटललाई डोनेसन गर्नेलाई गिफ्ट गरौँ पनि भन्नुभयो । तर म मानिनँ । यसको मूल्य र मुद्रण सङ्ख्या र पुस्तकले हस्पिटलभित्र महसुस हुने गरी योगदान गर्नुपर्छ भन्ने लाग्यो मलाई ।
डाक्साबलाई मैले सोधेँ, ‘सर, एउटा हस्पिटलको ब्लक या युनिट बन्न कति पैसा लाग्छ ?’
उहाँले भन्नुभयो, ‘कम्तीमा पाँच करोड ।’
त्यसपछि मलाई लाग्यो- ठीक छ एउटा किताबले हस्पिटलको एउटा ब्लक या युनिट बन्न योगदान गरोस् ।
अनि मैले हिसाब गरेँ । दुई हजार प्रति लिमिटेड एडिसन छापेर प्रति पुस्तक २५ हजार रुपैयाँमा बेच्न सकियो भने एउटा ब्लक बन्ने पैसा आउने रहेछ ।
यसरी लिमिटेड एडिसनको मूल्य २५ हजार रुपैयाँ राख्ने तय गरियो ।
फेरि यो कुरा डाक्साबले अमेरिकामा आफ्ना साथीहरूलाई सुनाउनु भएछ । त्यहाँ पनि थप पाँच सय प्रति पुस्तक बेच्न सकिने कुरा आयो । र कुल २५ हजार मूल्य अंकित भएका २५ सय प्रति पुस्तक छाप्ने निर्णय गरियो । र उक्त विक्रीबाट ६ करोड २५ लाख रकम उठाउने लक्ष्य राखियो ।
हालको सेन्ट्रल हस्पिटलको कुल लागत एक अर्ब ६ करोड रुपैयाँ छ । हामीले कहीँ गरे पनि एक अर्ब जुटाउन सक्दैनौँ । तर लागतको पछाडि रहेको अङ्क अर्थात् ६ करोड २५ लाख रुपैयाँ भने जुटाउने जमर्को गर्यौं ।
जीवनमा केही राम्रो सोच्नु एउटा कुरा हो । तर त्यसलाई यथार्थमा परिणत गर्नु अर्को कठिन काम हो । यो त इन्टेन्सनको कुरा मात्र भयो । तर गर्ने कसरी ? खालि, डाक्साबबाट असल रेपुटेसन र ट्रयाक रेकर्ड सुनिरहेको म उहाँको पुस्तक प्रकाशन गर्ने अवसर पाएको अवस्थामा उहाँको कजमा जोडिऔँ भन्ने हो ।
पुस्तकमार्फत सहयोग जुटाउने हाम्रो सानो प्रयास मात्र हो, जुन पर्याप्त छैन । नेपाल र विश्वभर छरिएर रहेका हामीभन्दा सक्षम, सबल र सचेत व्यक्ति एवम् संस्था आ-आफ्नो ठाउँबाट जुट्यौँ भने डा. कोइरालाले बालबालिकाका लागि बनाउने भनेको विशिष्टीकृत अस्पतालको सपना पूरा हुन पक्कै असम्भव छैन ।
हामी पनि कुनै समय कसैको छोराछोरी वा नातिनातिना थियौँ । कुनै दिन हाम्रा पनि छोराछोरी वा नातिनातिना होलान् । आउनुस्, हामी एक अत्याधुनिक बाल अस्पतालको जग निर्माण गर्न एकजुट होऔं, ताकि हाम्रा बालबालिकाले नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् ।
भविष्यका लागि केही उदाहरणीय काम गरौँ ।
निरज भारी फाइनप्रिन्ट प्रकाशन गृहका सहसंस्थापक तथा सिइओ हुन् ।
प्रतिक्रिया 4