
२६ भदौ, तनहुँ । तनहुँ सदरमुकाम दमौली आधुनिक शहर बनेसँगै गुणादीको पानीले यहाँको प्यास मेट्दै आएको छ ।
दमौलीलाई पानी दिंदै आएका गुणादीका बासिन्दाले भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको एक अभिव्यक्तिले आफूहरुको अपमान भएको बताएका छन् । विवाद यति चर्कियो कि उनीहरुले दमौलीमा लगिएको पानी नै बन्द गरिदिए ।
खासमा पौडेलले दमौलीमा आयोजित कांग्रेसको कार्यक्रममा मादीबाट पानी आएपछि दमौलीमा रोगको त्रास नरहेको भन्दै त्योभन्दा अघि गुणादीको चुन्याहा (चुन मिसएको) पानी खानुपर्ने अवस्था अन्त्य भएको बताएका थिए ।
अन्य जिल्लाको उदाहरण हेरेर आफ्नै सक्रियतामा मादीको पानी ल्याएपछि दमौली बजार रोगमुक्त भएको उनको तर्क थियो ।
पौडेलको यो भनाइलाई लिएर गुणादीवासीले पौडेलको आलोचना गरिरहेका छन् । मुहान बन्द गरेका युवाहरुले पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडान लिएका छन् ।
दमौलीले ३ दशकदेखि गुणादीकै पानी खाने गरेको भन्दै उनीहरुले पौडेलको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको बताएका छन् । ‘काकाकुल बनेको दमौलीलाई पानी खुवाउन भनेर हामीले हाम्रो खेत सुख्खा राखेर पानी दियौं,’ गुणादीका अनिल अधिकारीले भने, ‘धन्यवाद पाइएला भन्दा उल्टै लान्छना लाउने काम छ ।’
खानेपानी बन्द गरिँदा दमौलीवासीलाइ पर्न जाने असुविधाप्रति क्षमा माग्दै पौडेलले यथासिघ्र गुणादी आएर माफी माग्नुपर्ने बताएका छन् ।
अभिव्यक्तिको गलत अर्थ लगाइयो : कांग्रेस
घटनामा पौडेलले माफी माग्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विरोध भए पछि कांग्रेस तनहुँले विज्ञप्ति निकालेर अभिव्यक्तिलाई गलत रुपमा अर्थ्याइएको बताएको छ ।
पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा पौडेलले गुणादीको पानी चुन्याहा र अपर्याप्त भएकाले त्यसको बदलामा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा पार्टीको सहयोग रहेको बताएको तर त्यसलाई झुटो प्रचार गरिएको उल्लेख छ ।
‘गुणादीबाट दमौलीमा आइरहेको पानी अपर्याप्त भई त्यो पानी चुनियासमेत भएकाले बैकल्पिक श्रोतको रुपमा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा नेपाली कांग्रेसको सहयोग रहेको भनी बोल्नुभएको विषयलाई चुर्ना परेको पानी भनी अन्यथा प्रचार भएको विषयमा ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4