
२६ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको दोस्रो खेलमा कर्णाली प्रदेशले नेपाल पुलिसलाई ८५ रनको लक्ष्य दिएको छ ।
पुलिसका स्पीनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली १९.३ ओभरमा ८५ रनमा अलआउट भए ।
कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाहीले सर्वाधिक २७ र विपिन रावललले १७ रन बनाए । यो जोडीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।
दशौँ ओभरमा पुलिसका ललित राजवंशीले विपिनलाई आउट गर्दै साझेदारी तोडे । त्यसपछि पुलिसले लगातार विकेट लिँदा कर्णाली सम्हालिन सकेन । रविन्द्रले एक छेउबाट इनिङ्स् सम्हाले पनि अर्को छेउबाट निरन्तर विकेट गयो ।
रविन्द्र र विपिन बाहेक कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए । टप अर्डरलाई ध्वस्त पार्ने क्रममा राजवंशीले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए ।
यस्तै दीपेन्द्रले ३.३ ओभरमा १७ रन खर्चेर अन्तिम ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए भने कप्तान मन्जित श्रेष्ठले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया 4