
२६ भदौ, विराटनगर । फुटबल हेर्न भन्दै घरबाट हिंडेपछि सम्पर्क बिहीन भएका मोरङको लेटाङका तीन किशोरी विराटनगरमा फेला परेका छन् । शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेर सम्पर्क बिहिन भएका उनीहरु विराटनगर १४ जतुवामा भेटिएका हुन् ।
लेटाङ नगरपालिका–३ का १२, १३ र १४ वर्षका तीन किशोरी गाउँमा भइरहेको फुटबल प्रतियोगिता हेर्न भन्दै घरबाट हिंडेका थिए । घरबाट हिंडेपछि सम्पर्कविहीन भएका किशोरी विराटनगरमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
शनिबार बिहान हिंडेका किशोरी घर नफर्किएपछि आइतबार बिहान आफन्तले प्रहरीमा खबर गरेका थिए । आइतबार बिहानबाट प्रहरीले खोजी तिब्र बनाएको थियो । खोजी गर्ने क्रममा विराटनगर विराटनगर–१४ जतुवास्थित देवी राईको घरमा उनीहरु भेटिएका हुन् ।
‘तीन मध्ये एक किशोरीकी आमा विराटनगरमा रहिछन्,’ उनले भने, ‘कसैलाई नभनी विराटनगर आएका रहेछन् ।’ विराटनगरमा भेटिएका किशोरीलाई आफन्तको जिम्मा लगाइएको उनले बताए ।
प्रतिक्रिया 4