
२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै सत्तारुढ गठबन्धनका नेताहरुको नाम लिएका छन् । बयानका लागि आइतबार महाअभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले ‘राजीनामा दिए सहजीकरण गर्छौं’ भनेको बताएका हुन् ।
उनले भनेका छन्, ‘यो फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वजनिक रुपमा ।’
उनले अघि भने, ‘को नेताले भन्ने हो भने त्यो पनि भनिदिन्छु । तर त्यति हुँदासम्म जाँदा देशको न्यापालिकालाई त बिगार्यो बिगार्यो, न्यायपालिकालाई त ध्वस्त गर्यो गर्यो, राजनीति पनि ध्वस्त नहोस् ।’
समितिका सदस्यहरुले नाम भन्न आग्रह गरेपछि जबराले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको नाम लिए । ‘नेपाली कांग्रेसको डिनाजीलाई सोधे हुन्छ,’ उनले भने, उहाँ मकहाँ आउनुभएको हो, यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको हुँ । यसलाई हामी फिर्ता लिइदिन्छौं, तपाईंले मिलाएर राजीनामा दिए हुन्छ ।’
कांग्रेस सहमहामन्त्री डिना आफ्नै क्वार्टरमा आएको भन्दै उनले भने, ‘प्रचण्डजीको पनि सहमति, प्रधानमन्त्रीजीसँग पनि बसेर कुरा गरेर आएको हुँ भन्नुहुन्थ्यो ।’
कांग्रेस सहमहामन्त्री डिनाले पनि जबरासँग भेट भएको स्वीकार गरिन् । उनका अनुसार महाअभियोग दर्ता भएको (१ फागुन २०७८) को करिव एक डेढ महिनापछि भेट भएको थियो ।
‘उहाँको मान्छेले जोड गरेपछि भेटेको हुँ,’ सहमहामन्त्री डिनाले अनलाइनखबरसँग भनिन्, ‘उहाँले फिर्ता लिइदिनुस्, सहयोग गर्छौं भन्नुभयो । मैले महाअभियोग दर्ता भइसक्यो, किन बस्नुहुन्छ ? राजीनामा दिएर इज्जतका साथ विदा हुनुस् भनेर सल्लाह दिएको हुँ ।’
प्रतिक्रिया 4