
काठमाडौं । नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकी नेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो । हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएको महसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
प्रतिक्रिया 4