
नेपाली समाजमा आजको युगमा वास्तवमा भन्ने हो भने पैसा कमाउने र नकमाउने मानिसलाई हेर्ने र गर्ने व्यवहार फरक–फरक भएको प्रत्यक्ष रूपमा देखिन्छ । पैसा कमाउनेलाई अलि बढी भाउ दिइन्छ भने पैसा नकमाउनेलाई आफ्नै इष्टमित्रबाट गरिने व्यवहार र बोली पनि फरक–फरक र भिन्न भएको अनुभव हुन्छ ।
नेपालीमा एउटा उखानै पनि सुन्दै आएका छौं– सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ ! अहिलेको सामाजिक परिवेशमा पैसावालाको शान, मान र रवाफ छुट्टै हुन्छ । विभिन्न आधारमा कसैले बढी पैसा कमाउँछन् भने कसैले थोरै वा योग्यताका आधारमा कमाएका हुन्छन् ।
पेशाको हिसाबले भन्ने हो भने म साधारण शिक्षक । घरनजिकैको विद्यालयमा बालबालिकालाई पढाउने र नयाँ–नयाँ कुराहरू सिकाउने गर्छु; किनकि मलाई यो काम धेरै मनपर्छ । म यस पेशामा रमाउने गरेको छु, चाहे यस पेशामा पैसा नकमाए पनि ।
विद्यालयले मलाई कहिलेकाहीं काममा अलि बढी जिम्मेवारी दिएको हुन्छ जसले गर्दा बढी समय खर्चिनुपर्ने हुन्छ । घर फर्कन पनि कहिलेकाहीं सोचेको भन्दा बढी समय लाग्छ । विद्यालयबाट घर फर्कने क्रममा मानिसले सोध्ने गर्छन्— किन ढिलो, के कामले ढिलो, पैसा कमाएर कता राख्छस् ?
कहिलेकाहीं साथीभाइ अनि इष्टमित्रहरूले बोलाएको बेलामा म विद्यालयको कामले गर्दा अनुपस्थित हुन्छु वा जान सक्दिनँ तब फेरि त्यही प्रश्न ममाथि दोहोरिन्छ— पैसा कमाएर कता राख्छस् ?
घरबाट विद्यालयमा जाने क्रममा पनि छिमेकीले घुमाउरो पारामा भन्ने गर्छन् कि-ओइ फलानो; आज किन विद्यालय चाँडो जान लागेको ? आज तेरो विद्यालयमा चाँडो जानुपर्ने कारण के छ र ! फेरि त्यही प्रश्नको बज्रपात हुन्छ ममाथि-पैसा कमाएर कता राख्छस् ?
विद्यालयमा काम गरेको मेरो लगभग पाँच वर्षजति बितिसकेको छ । यही पाँच वर्षको समयावधिमा पनि मेरा छिमेकी, इष्टमित्र र साथीलाई पैसा कमाएर कता राख्छस् भन्ने प्रश्नको उत्तर मैले आजको दिनसम्म दिनसकेको छैन ।
यस प्रश्नको उत्तर मैले कहाँ र कताबाट अनि कुन तरिकाले दिने होला भन्दै म सोच्न बाध्य र विवश भएको छु । यसको उत्तर सबैलाई सामूहिक बैठक राखी उनीहरूको जिज्ञासा मेटाउने विचार राखेको छु ।
प्रतिक्रिया 4