
२७ भदौ, काठमाडौ । इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौं महानगरपालिकाले विदाइ गरेको छ ।
जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पदयात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको विदाइ गरिएको महानगरले जानकारी दिएको छ ।
राष्ट्रिय सभागृहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहितको उपस्थितिमा पाहुनाको विदाइ गरिएको महानगरले जनाएको छ ।
विदाइ कार्यक्रममा बोल्दै मेयर बालेन्द्र (बालेन) साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । मेयर बालेनले यस वर्ष महानगरले भगिनीसम्बन्ध भएका सहरबाट आमन्त्रण गरेका पाहुनामार्फत यहाँको परिवेश प्रवर्धन गरेको भन्दै पर्वकै कारण अन्तरनगर सम्बन्ध गाढा भएको, आपसी सहयोग र सहकार्य थप मजबुत भएको बताएका थिए ।
महानगरका अनुसार स्वदेशी तथा विदेशी पाहुनाहरुले इन्द्रजात्राको धार्मिक एवं सांस्कृतिक महत्वका बारेमा उच्च प्रशंसा गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले इन्द्रजात्राको धार्मिक एवं सांस्कृतिक महत्वबारे विराटनगरवासी समक्ष पुर्याउने बताए । मेयर कोइरालाले इन्द्रजात्राको महत्वलाई आन्तरिक समन्वयबाट विस्तार गर्नुपर्नेमा जोड दिए ।
विदाइ कार्यक्रममा चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायतले इन्द्रजात्रा पर्वले आत्मीयता महसुस गराएको बताए ।
जात्राको जीवन्तताका विषयमा कुरा गर्दै संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्ग नगरका प्रतिनिधि स्कट हेनरी देलिसीले जात्रा प्रवर्द्धन योग्य भएको बताएका थिए ।
प्रतिक्रिया 4