+
+

युरो ६ लागू गर्ने सरकारको तयारीमा नाडाको असहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:५०
प्रदीप यादव र ध्रुव थापा

२७ भदौ, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले नयाँ प्रदूषण मापदण्ड (युरो ६/बीएस ६) लागू गर्ने तयारी गरेसँगै अटोमोबाइल व्यवसायीले असहमति जनाएका छन् ।

मन्त्रालय सम्हालेदेखि नै वनमन्त्री प्रदीप यादवले युरो–६ मापदण्ड लागू गर्नु पर्नेमा जोड दिंदै आएका छन् । छिमेकी मुलुक भारतले समेत सवारी साधनमा युरो ६ (बीएस-६) मापदण्ड लागू भइसकेकाले त्यही मापदण्ड नेपालमा कायम गराउन उनले जोड दिइरहेका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले तत्काल यो मापदण्ड लागू गर्दा आटोमोबाइल व्यवसायीलाई मात्र नभएर समग्र देशलाई पनि आर्थिक व्ययभार पर्ने जनाएका छन् । यसले जनताको घर भान्छासम्म अति आवश्यक वस्तुको समेत मूल्य बढ्ने र ठूलो संख्यामा रोजगारी गुम्ने समेत थापाको भनाइ छ ।

प्रदूषण मापदण्डलाई ३ स्टेपको फड्को एकै पटक मार्ने गरी जानू भन्दा पनि अन्य सबै राष्ट्रले समेत अपनाएको तरिका अनुरुप नै हाल भइरहेको मापदण्डबाट १ चरण अपग्रेड गरी युरो ४/बीएस४ र त्यसपछि आवश्यक दक्ष जनशक्ति, उपकरण र पूर्वाधारहरुको व्यवस्था भइसकेपछि मात्रै युरो ६/बीएस६ मापदण्ड लागू गर्नु उपयुक्त र व्यवहारिक हुने उनको भनाइ छ ।

तत्कालै लागू हुने गरी ३ बाट एक्कैचोटी युरो ६/बीएस६ प्रदूषण मापदण्ड लागू भएमा सार्वजनिक तथा ढुवानीका सवारी साधनहरुको मूल्यमा ३५ देखि ४५ प्रतिशतसम्मको तत्काल मूल्य वृद्धि हुन जाने व्यवसायीको चेतावनी छ । यसले खाद्यान्न लगायत अन्य अत्यावश्यक मालवस्तुको समेत मूल्य वृद्धि हुने छ ।

स्वरोजगारका रुपमा देशका कुना काप्चामा समेत सेवा पुर्‍याइरहेका ३०औं हजार अटोमेकानिक्सहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न जाने समेत नाडाले जनाएको छ । अत्याधुनिक प्रविधि युक्त सवारी साधनहरुको मर्मत सम्भार गर्न अहिलेका जनशक्तिमा ज्ञान सीपको क्षमता नभएको नाडाले जनाएको छ ।

युरो६/बीएस६ भएकै कारण हाल तिरेको मूल्य भन्दा धेरै नै बढी मूल्य भुक्तानी गरी सवारीसाधनहरु आयात गर्नु पर्दा अनावश्यक रुपमा देशलाई आर्थिक नोक्सानी पर्नुका साथै अहिले देशमा परिरहेको विदेशी मुद्राको दबावलाई समेत झन् नकारात्मक असर पर्न जाने समेत नाडाले उल्लेख गरेको छ ।

संसारका कुनै पनि देशले युरो३/बीएस३ बाट एक्कै पटक ३ चरणको फड्को मारेर युरो६/बीएस६ प्रदूषण मापदण्ड लागू गरेको उदाहरण नभएको भन्दै ती मुलुकले चरणबद्ध रुपमा नै व्यवसायी तथा उत्पादकहरुलाई समय उपलब्ध गराएर मात्रै स्तर उन्नती गर्दै लगेको स्पष्ट पारिएको छ ।

नेपालमा सवारी साधनका कारण देशको वातावरणमा कति असर परेको छ भन्नेबारे हालसम्म कुनै विस्तृत अध्ययन नभएको भन्दै काठमाडौं सहरको हकमा बढी प्रदूषण हुनुमा सवारी साधन भन्दा अन्य कारण प्रमुख रहेको दावी समेत नाडाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?