
२८ भदौ, काठमाडौं । काठमाडौं महागरपालिका भित्रका सहकारी संस्थाले पुस मसान्त २०७९ भित्र साधारणसभा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।
महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले यस्तो निर्देशन दिएको हो । सबै सहकारीले अब पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिन भित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिका भित्रको सहकारी विभागमा अनिवार्य बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।
विगाभले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न समेत सहकारी संस्थाहरुलाई सूचित गरेको छ ।
गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्नुपर्ने
काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारीले गणपुरक संख्या (५१ प्रतिशत) पुर्याएर मात्र साधारणसभा गर्नुपर्ने समेत विभागले सूचनामा उल्लेख गरेको छ ।
साधारण सभामा भाषण भन्दा बढी एजेन्डामा केन्द्रित गर्न समेत महानगरपालिकाले सहकारीहरुलाई सूचित गरेको छ । सबै प्रतिवेदनमाथि साधारण सदस्यबीच पर्याप्त छलफल गराएर मात्र प्रतिवेदन पास गर्न समेत भनिएको छ ।
संस्थाको चालु आवको बजेट, नीति तथा कार्यक्रम समेत साधारणसभाबाटै अनुमोदन गराउनु पर्ने छ । महानगरभित्र सञ्चालित सहकारीले तोकिएका शर्त नमानेमा विघटन र दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4