
काठमाडौं । एउटा यस्तो समय थियो, जतिबेला बेलायती राजकुमारी डायना सबैको केन्द्रमा थिइन् । उनको सुन्दरताले दुनियाँलाई मोहनी त लगाएकै थियो, परोपकारी मनले उत्तिकै हार्दिकता पनि आर्जन गरेको थियो । उनलाई एकसाथ दुई कुरा प्राप्त थियो, सुन्दरता र शक्ति ।
यस्तो कुनै ठाउँ थिएन, जहाँ उनको बखान हुँदैनथ्यो । उनको त्यो मादक मुस्कान, उदार सामाजिक भाव र प्रेमिल हृदय । सरस, सरल र सौम्य व्यक्तित्वले ओजपूर्ण थिइन् उनी ।
त्यसैले त डायना राजघरानाको शोभा बनेर बस्नभन्दा पनि सर्वसाधारणमाझ घुलमिल हुन रुचाइन् । बेलायतको राजघरानाका सदस्यले बाहिर निस्किंदा प्रयोग गर्ने लामो पञ्जा उनी लगाउँदिन थिइन् । यस्तो पञ्जा प्रयोग गरिरहँदा सर्वसाधारणसँग निकट भएको अनुभूति हुँदैन भन्ने उनलाई लाग्थ्यो ।
आफ्नो जमानाका उनी त्यस्ती सुन्दरी थिइन्, जसको सर्वाधिक फोटो खिचिएको थियो । जसलाई हरक्षण सञ्चारमाध्यमले पछ्याइरहन्थे ।
बेलायतको सेन्ड्रिघम पार्क हाउसमा जन्मिएकी डायनाको चर्चा बेलायती राजपरिवारसँग जोडिएदेखि मृत्युपर्यान्त चलिरहेको छ । उनको जीवन कुनै काल्पनिक फिल्मको कथाभन्दा फरक छैन ।
उथलपुथल बाल्यकाल
उनको जीवन निकै उथलपुथलमा बित्यो । उनी सानै छँदा बुवाआमाको सम्बन्धविच्छेद भयो । पछि राजकुमार चार्ल्ससँग उनको विवाह भयो ।
डायनाको जन्म सन् १९६१ को जुलाईमा भएको थियो, बुवा जोन स्पेन्सर र आमा स्याण्डकिडको चौथो सन्तानका रुपमा । डायना सात वर्षकी हुँदा उनका आमाबुवाको सम्बन्धविच्छेद भयो । सन्तान कोसँग बस्ने भन्ने मुद्दामा बुवाको जित भयो । त्यसपछि उनी बुवाकै घरमा बस्नुपर्ने भयो, जहाँ उनकी कान्छी आमा थिइन् ।
बेलायती राजपरिवारसँग उनको परिवारको नजिकको सम्बन्ध थियो । उनको परिवारको घर पनि शाही परिवार नजिकै थियो । डायनाको पढाइ सुरुमा घरमै भयो । पछि उनले नृत्य सिकिन् । लण्डन सरेपछि खर्च जुटाउनका लागि उनी नृत्य शिक्षक र क्लिनिक वर्करको रुपमा काम गर्न थालिन् ।
त्यो एक मोड
सन् १९७७ मा बेलायतका राजकुमार र डायनाको भेट भयो । उनीहरु भेट्दा राजकुमार चार्ल्स उनकी बहिनी सारासँग डेट गरिरहेका थिए । चिनजान बढेपछि उनीहरु राम्रो साथी भए । उनीहरु दुवैलाई पोलो खेल मनपर्ने, यसले उनीहरुको निकटता झन् बढाइदियो ।
सन् १९८१ मा चार्ल्सले डायना समक्ष प्रेम प्रस्ताव राखे । प्रस्ताव राखेको केही समयपछि उनीहरुको मगनी भयो । रमाइलो त के भने विवाह हुनुभन्दा अघि उनीहरु १२ पटक मात्रै भेटेका थिए । प्रेम जीवन परिपक्व नहुँदै उनीहरुले विवाहको टुंगो गरे । अन्ततः चार्ल्स र डायनाबीच विवाह भयो, सन् १९८१ मा ।
सानोतिनो कामबाट जीवन धानिरहेकी डायना एकाएक बेलायती राजकुमारी बनिन् ।
धुमधाम जीवन
८० को दशकमा टेलिभिजन विश्वको कुनाकुना पुगिसकेको थियो । उनीहरुको विवाह निकै धुमधामसँग गरियो । राजकुमारी बनेपछि डायनाले श्रीमान चार्ल्ससँग देश विदेश घुम्ने मौका पाइन् । डायना संसारभर चिनिन थालिन् । राजकुमारीका साथै उनको कोमल मनका कारण उनी छिट्टै सर्र्वसाधारणको मनमा बस्न सफल भइन् ।
डायनाको लोकप्रियता बेलायतको शाही परिवारभन्दा बढ्दा थियो । बाल्यकालदेखि स्वतन्त्र र खुला परिवेशमा हुर्किएकी डायना शाही परिवारका नियम कानुनभित्र गुम्सिन थालिन् ।
सफा मन, स्वच्छन्द जीवन
डायना पुरानै स्वभाव र शैलीमा खुला रुपमा घुम्न, हेर्न र डुल्न चाहन्थिन् । उनी आफ्नो स्वच्छन्दता चाहन्थिन् । जुन कुरा शाही परिवारको नियम विपरीत थियो । राजकुमारी बनेपछि उनले आफ्नो चाहना अनुसार काम गर्न पाइनन् ।
डायना समाज सेवामा जति गम्भीर थिइन्, त्यति नै पहिरनमा विन्दास पनि । उनले आफूलाई र आफ्नो सेवा गर्ने अठोटलाई कहिल्यै राजघरानाको सीमाभित्र कैद हुन दिइनन् ।
राजकुमारी हुनुको हैसियतले उनको पहिरनमा पाबन्दी थियो । तर डायना आफूलाई मनपर्ने पहिरन छान्ने गर्थिन् । डायनाको समाजसेवा र फेसन चेत उच्च थियो ।
सामान्य जीवन
विवाह भएको एक वर्षमा डायनाले पहिलो सन्तानका रुपमा राजकुमार विलियम्सलाई जन्म दिइन् । उनी छोराको हुर्काइबढाइ सामान्य नागरिकसरह होस् भन्ने चाहन्थिन् । जसका लागि उनले विलियम्सलाई सरकारी विद्यालयमा भर्ना गरिदिइन् ।
जबकि उनलाई निजी शिक्षक राखेर पढाउने व्यवस्था गर्न सकिन्थ्यो । सन् १९८४ मा डायनाले दोस्रोे सन्तानका रुपमा राजकुमार ह्यारीलाई जन्म दिइन् । सामाजिक काम मन पराउने डायनाले मदर टेरेसासँग काम गरिन् ।
सम्बन्धमा खटपट
समय बित्दै गएपछि राजकुमार चार्ल्स र उनको सम्बन्धमा चिसोपना आउन थाल्यो । राजकुमार चार्ल्स त्यतिबेला अर्कै महिलासँग डेट गरिरहेका थिए । जुन कुरा डायनाले बीबीसीलाई दिएको एक अन्तर्वार्तामा खुलाएकी थिइन् । यो कुरा निकै विवादित बनेको थियो ।
९० को दशकमा चार्ल्स र डायनाबीचको विवाद खुलेरै सतहमा आयो । उनीहरु दुवै अलगअलग बस्न थाले । चार्ल्सको मात्रै नभई डायनाको पनि विवाहइतर सम्बन्ध रहेको खबर सार्वजनिक भए । यो खबर बाहिर आएपछि उनलाई मिडियाले कहिल्यै छाडेनन् ।
प्रहरी अधिकृत ब्यारी, कमाण्डर जेम्स ह्याविट, बाल्यकालको साथी जेम्स गिल्वे, अलिवर होएरे, रग्वी प्लेयर विल, पाकिस्तानी चिकित्सक हसनत खान र डोडी अल फायदसँग डायनाको नाम जोडियो । डायना विभिन्न कारणले मिडियामा छाइरहिन् ।
डायनाको नाम विभिन्न व्यक्तिसँग जोडिएको समयमा चार्ल्स आफ्नी पूर्वप्रेमिका तथा हालकी पत्नी क्यामिलासँग सम्बन्धमा थिए ।
एक दुःखान्त
मिडिया र पापाराजीले डायनालाई कहिल्यै एक्लो छाडेनन् । सधैं पिछा गरिरहे । उनलाई पापाराजीले निकै दुःख दिए । वर्षौंसम्म अलग रहेपछि डायना र चार्ल्सको सम्बन्धविच्छेदले १९९६ अगस्ट २८ मा औपचारिकता पायो ।
सन् १९९७ को अगस्ट ३१ मा पेरिसमा भएको रात्रिभोजमा डायना धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग कारमा बाहिर निस्केकी थिइन् । उनीहरुको कारलाई पापाराजीले पछ्याइरहेका थिए । पापाराजीबाट बच्न कार भगाउँदा कार दुर्घटनामा परी उनको निधन भयो ।
डायनाको शवयात्रा हेर्न १० लाख बढी मानिस सडकमा जम्मा भएका थिए । डायनाले संसार छाडेको २५ वर्ष भए पनि संसारले उनलाई अहिलेसम्म छाडेको छैन । उनी इतिहासकी अमर, अजर सुन्दर महिला पात्र हुन् । जसले करोडौंको मन मस्तिष्कमा डेरा जमाएकी छन् ।
महारानी एलिजाबेथको निधनपछि चार्ल्स तृतीय अहिले बेलायतका राजा बनिसकेका छन् । चार्ल्स राजा बनेसँगै डायनाको फेरि एकपटक विश्वभर चर्चा भइरहेको छ । चर्चाको कारण, उनको सुन्दरता, मिजासिलो हाँसो, मनकारी मन र प्रेमप्रसंग नै हुन् ।
प्रतिक्रिया 4