+

नवौं राष्ट्रिय खेलकुदको खेल सामग्री किन्न बजेट नआएपछि चन्दा संकलन

२०७९ भदौ  २८ गते १७:१७ २०७९ भदौ २८ गते १७:१७
नवौं राष्ट्रिय खेलकुदको खेल सामग्री किन्न बजेट नआएपछि चन्दा संकलन

२८ भदौ, पोखरा । प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले भदौ १५ गते मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट नपठाएको गुनासो गरेका थिए ।

मन्त्री मनाङले ७ करोड रुपैयाँ माग गरेकोमा ३ करोड रुपैयाँमात्रै आएको सुनाउँदै भनेका थिए, ‘मैले त यो राष्ट्रिय खेलकुद हुँदैन भन्दै आएको छु । कसैले वास्ता गरेन । हामीले मागेको एक रुप्पे पनि आएन । खेलाडीको डाइट त परको कुरा, खाजा खाने पैसासमेत छैन । कम्ता टेन्सन छ !’

नवौं राष्ट्रिय खेलकुद आगामी असोज अन्तिमदेखि गण्डकीमा हुने तय छ । प्रतियोगिताका लागि अहिले प्रदेशका विभिन्न जिल्लामा बन्द तथा विशेष प्रशिक्षण चलिरहेको छ । तर, प्रतियोगिता मिति नजिकिँदै जाँदासमेत बजेट अभावका कारण खेलाडीले खेल सामग्री नपाएको भन्दै सामाजिक सञ्जालमा आलोजना भइरहेको छ ।

पटकपटक बजेट माग गर्दासमेत निकासा नपाएपछि सामाजिक सञ्जालमार्फत नै चन्दा संकलन अभियान सुरु भएको छ । कास्की जिल्ला फेन्सिङ संघको अगुवाइमा नवौं राष्ट्रिय खेलकुदका लागि अहिले चन्दा संकलन सुरु भएको हो ।
संघका कास्की अध्यक्ष विजय शाहीले प्रदेश खेलकुद मन्त्रिपरिषद् र मन्त्रालयको बाटो हेर्दा ‘हात लागे शून्य’ अवस्था आउने भएकाले चन्दा संकलन सुरु गरेको बताएका छन् । उनले बजेट अभावमा खेल सामग्री र पोशाकसमेत ल्याउन नपाएको जानकारी दिए ।

‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याइ प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे शून्य होलाजस्तो लागेर लाजै नमानी सामाजिक सञ्जाल मार्फत नै हात फैलाउन बाध्य भएँ,’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्फिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ, हिसाब पारदर्शी हुने वाचा गर्दछु । गण्डकी प्रदेशकै ईज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरें ।’

राष्ट्रिय खेलकुद ३९ वर्षपछि गण्डकीमा दोस्रो पटक हुन लागेको हो । यसअघि २०४० सालमा गण्डकीमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रदेश राजधानी पोखरासहित विभिन्न जिल्लामा हुने तय छ ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय