
२८ भदौ, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।
असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले दिएका छन् ।
व्यवसायीले राखेको माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी दिए ।
महासंघको भदौ २२ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि सम्पूर्ण ढुवानी व्यवसायीले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् ।
देशभरका कुनैपनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रमलाई यथावत राख्दै भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ गर्ने र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोरा बताउँछन् । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राख्दै आएको छ ।
मन्त्रालयसँगको वार्ता निष्कर्षविहीन
समस्या समाधानका लागि मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्ता उपलब्धि मुलक नभएको बोहोराले जानकारी दिए । ‘खर्च बढे अनुसार भाडा समायोजन गर्नुपर्यो भनेर माग राख्यौं, मन्त्री ज्यूले सचिव सरुवा भएका छन्, नयाँ सचिव आएपछि छलफल गरौंला, केही दिन आन्दोलन स्थगित गर्नुस् भनेर प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘तीन दिनसम्म आन्तरिक ढुवानी जारी रहन्छ भनेर निराश हुँदै फर्केका छौं ।’ यसअघि पनि तीन पटक समय माग गरिसकेकोले आन्दोलन जारी राख्न बाध्य भएको उनले बताए ।
०७३ सालदेखि पेट्रोलियम पदार्थको ढुवानी भाडा नबढाएकोले वैज्ञानिक ढंगले भाडा समायोजन गर्नुपर्ने माग ढुवानी व्यवसायीको छ । यसबीचमा सार्वजनिक यातायातको भाडा ६६ प्रतिशत र ट्रकको भाडा ६० प्रतिशत बढी सकेको दावी पेट्रोलियम ढुवानी व्यवसायीको छ ।
महसंघका वरिष्ठ उपाध्यक्ष मनोज दासले आयल निगमले ढुवानी भाडा समेत नदिएर अप्ठेरोमा पारेको गुनासो गरे । ‘रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द गरेर बरौनीबाट ल्याउनुपर्ने गराए, एक महिना भो भाडा दिइरहेका छैनन्,’ उनले भने, ‘४० जना जति ढुवानी व्यवसायीको ३ करोड ६० लाख रुपैयाँ जति बक्यौता छ । मेरो मात्रै १ करोड जति छ । बैंकले पैसा मागेर हैरान पारेको छ ।’
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ओसार्ने झण्डै २ सय ट्याङकर मध्ये ९० वटा जतिले बरौनीबाट पेट्रोलियम पदार्थ ढुवानी गरिसकेको उनको भनाइ छ ।
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलनमा पेट्रोलियम डिलर्स एशोसियसनले पनि साथ दिने तयारी गरेको छ । एसोसियसनका प्रथम उपाध्यक्ष विनोद चौरसियाले ढुवानी व्यवसायीको मर्कालाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको माग र आपूर्ति नै नगर्ने तयारी भइरहेको बताए ।
प्रतिक्रिया 4