काठमाडौं । ललितपुर भैंसेपाटीकी सविना भण्डारी जतिबेला लुनिभा बाल सरोकार समूहमा काम सुरु गर्दै थिइन्, उनको उमेर पुग-नपुग १८ वर्ष थियो । त्यहीताका उनी विद्यालयको एक कार्यक्रममा गएकी थिइन् । त्यो भीडभाडमा एक महिलाले ‘दिदी मलाई त्यो सामान दिनु त’ भनिन् ।
वयस्क महिलाले दिदी भनेर सम्बोधन गरेपछि उनी झसंग भइन् । ‘म त्यति छिप्पिएकी देखिन्छु ?’ सविनाले आफैंलाई प्रश्न गरिन् । साँझ घर फर्कनासाथ उनी ऐना अघिल्तिर उभिइन् । ऐनामा उनले यसरी आफूलाई कहिल्यै नियालेकी थिइनन् । मेरो अनुहार रुखो देखियो कि ? कपाल अलि फुलेको छ त्यसैले पो बढी उमेरको देखियो कि ? मनमा नानाथरी कुरा खलिरह्यो ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधानको कथा उस्तै छ । बुवाको एउटा किराना पसल थियो । पसलमा सधैंजसो बुवा नै बस्ने गर्थे । एकदिन बुवा कामले बाहिर गएका बेला उनी पसलमा बसिन् । त्यहीबेला लगभग १७ वर्षको किशोर आएर भने, ‘आन्टी मलाई एक प्याकेट पास्ता दिनु न ।’
उनले पास्ता त दिइन्, तर आफूलाई ‘आन्टी’ भनेको कुराले मन भने खिन्न भइरह्यो । ‘म बुढी देखिन्छु र ? किन उसले दिदी नभनेर आन्टी भन्यो,’ उनी सोचमग्न भइन् । यस्तो सम्बोधनले उनलाई नराम्ररी बिथोल्यो ।
उमेरको जति-जति चरण पार गर्दै गइन्छ, त्यसको संकेत आफ्नो अनुहार, छाला र समग्र शरीरमा देखिन थाल्छ । मान्छेमा देखिने उमेरको त्यही संकेत अनुरुप उसलाई गरिने सम्बोधन पनि बदलिंदै जान्छ । सुरुमा नानी, बाबु भनिएकाहरु भाइ-बहिनीमा रुपान्तरण हुन्छन् । भाइ-बहिनीहरु फेरि दाजु-दिदीमा उक्लिन्छन् । समयक्रममा दाजु-दिदीहरु अंकल-आन्टीमा बदलिन्छन् । तर जति-जति उमेर उकालो लाग्दै जान्छ, मान्छेले त्यसलाई सहज स्वीकार्न सक्दैनन् । खासगरी ‘आन्टी’, ‘अंकल’ सम्बोधन हुन थालेपछि मान्छेको मनमा झट्का लाग्छ । उनीहरु सोच्न थाल्छन्, ‘के अब मेरो उमेर ढल्किन थालेको हो ?’
नाता-सम्बन्धले आन्टी भन्नु स्वाभाविक र स्वीकार्य भए पनि आम मान्छेले यस्तो सम्बोधन गर्नु भनेको बढ्दो उमेरको संकेत हो । अर्थात् किशोर, युवा हुँदै अर्को उमेर चरणमा पुगेको संकेत हो यो । आन्टी सम्बोधनले ‘अब तिमी युवती जस्तो देखिंदैनौ’ भन्ने स्पष्ट संकेत हो । तर उमेरको यो चरणलाई मान्छेले सहजै स्वीकार्दैनन् । उनीहरू आफूलाई कसैले आन्टी भनेर सम्बोधन गरेको सहँदैनन्, रुचाउँदैनन् ।
बढ्दो उमेरलाई सहज रूपमा किन लिइँदैन ?
‘जब कुनै व्यक्ति युवा अवस्थाबाट गुज्रिएर अर्को उमेर चरणमा पुग्छन्, त्यसको संकेत उनको अनुहार तथा शरीरमा देखिन्छ,’ मनोविद् मधुविलास खनाल भन्छन्, ‘तर शरीरमा भएको यो परिवर्तनलाई उनीहरुले बोध गरेका हुँदैनन् ।’
अक्सर मान्छेले सधैं आफूलाई किशोर वा युवाावस्थामै रहेको अनुभूति गर्छन् । यस्तो अवस्थामा कसैले जब उनीहरुलाई दाजु वा दिदी नभनेर अरु नै सम्बोधन गर्छन्, तब त्यो कुरालाई सहज रुपमा स्वीकार्न सक्दैनन् । यस्तो सम्बोधनले झसंग बनाइदिन्छ ।
क्षणक्षणमै मान्छेको उमेर बढ्दै वा ढल्किंदै गएको हुन्छ । यो कुरालाई मान्छेले महसुस भने गरिरहेका हुँदैनन् । मनोविद् खनाल भन्छन्, ‘यस्तो बेला कसैले आन्टी वा अंकल भनिदियो भने झोंक चल्छ ।’
जति-जति समय गुज्रिंदै जान्छ, मान्छेको शरीर बदलिंदै जान्छ । तर शरीरको यो बदलिंदो गतिसँग मनले लय मिलाउन सक्दैन । मन त सधैं कलिलै हुन्छ । मान्छेलाई आफ्नो उमेर ढल्किंदै गएको छ भनेर पत्तो पाउँदैनन् । ‘शरीरको यो परिवर्तनलाई स्वीकार्न हामीलाई कठिन हुन्छ,’ मनोविद् खनाल भन्छन्, ‘त्यसैले कसैले आन्टी, अंकल भनेको हामीलाई रुचिकर लाग्दैन ।’
उमेरका विभिन्न चरण छन् । युवा उमेरपछि मान्छे वयस्क हुन्छन् । त्यसपछि शरीर बुढ्यौलीतर्फ ढल्कन्छ । उमेरको परिवर्तनलाई मान्छेले क्रमशः स्वीकार्दै त जान्छन्, तर उमेर-परिवर्तनको एउटा निश्चित चरणमा उनीहरुले यो कुराको कुनै भेउ पाइरहेका हुँदैनन् । ठीक यही मोडमा कसैले पूर्ववतभन्दा फरक सम्बोधन गर्छन्, उनीहरु नराम्ररी झस्किन्छन् । ‘अर्थात् दाजु, दिदी भनिरहेको अवस्थामा कसैले पहिलो पटक अंकल वा आन्टी भनिदियो भने त्यसले झट्का लाग्छ,’ मनोविद् खनाल भन्छन् ।
के बढ्दो उमेरलाई ढाकछोप गर्न सकिन्छ ?
कतिपय मान्छे उमेरभन्दा बुढो देखिन्छन् भने कतिपय तन्नेरी । अर्थात् उमेरको गणनाले मात्र मान्छेको आवरण बदलिंदैन । जस्तो कुनै व्यक्ति ४५ वर्षका छन् भने पनि उनीहरुलाई झट्ट हेर्दा ३२ वर्षका देखिन्छन् । जबकि कोही ३० वर्षका व्यक्ति छन् भने उनीहरुलाई हेर्दा ४० वर्षका जस्ता देखिन्छन् । उमेर र आवरणबीचको यो बेमेल किन हुन्छ ?
यसमा मान्छेको वंशाणुगत स्वरुप, व्यक्तित्व निर्माण, पहिरन आदिले पनि भूमिका खेल्ने बताइन्छ । कतिपय मान्छेको वंशाणुगत गुण नै यस्तो हुन्छ कि उनीहरु सदाबहार तन्नेरी देखिन्छन् ।
त्यसबाहेक मान्छेको सोंच, चिन्तन, जीवनशैली आदिले पनि यसमा प्रभाव पार्ने बताइन्छ । मान्छेले कसरी लुगा लगाउँछ, कसरी आफूलाई स्याहारसुसार गर्छ, कसरी हिंडडुल गर्छ, कसरी बोल्छ भन्ने कुराले पनि उनीहरुको उमेर र आवरणबीच अन्तर देखाइदिन्छ ।
फेसन डिजाइनर तेन्जिङ छेतेन भुटिया भन्छन्, ‘लुगा लगाउने शैलीले मात्र पनि मान्छेको उमेर अन्तर केही वर्ष तलमाथि पार्न सक्छ ।’ यद्यपि त्यसो भन्दैमा लुगा लगाउने शैलीले मात्र उमेरको ढाकछोप गर्न सकिन्छ भन्ने होइन । भुटिया भन्छन्, ‘बरु आफ्नो उमेर अनुरुप सही ढंगको पहिरन शैली अपनाउन सकियो भने उमेरभन्दा बुढो देखिंदैन ।’
मान्छेले आफ्नो सौन्दर्यमा ख्याल राख्ने हो भने पनि उमेरभन्दा बुढो नदेखिने सौन्दर्यविद् लक्ष्मी महत बताउँछिन् । ‘हामीले आफैंलाई पनि स्याहारसुसार गर्नुपर्छ,’ उनी भन्छिन्, ‘छाला, कपाल आदिको हेरचाह गर्न सकियो भने उमेरभन्दा धेरै बुढो देखिंदैन ।’
खासमा खानपान, जीवनशैली, व्यक्तित्व निर्माण आदिबाट पनि उमेरलाई ढाकछोप गर्न सकिने उनीहरुको बुझाइ छ ।
प्रतिक्रिया 4