
२९ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलका सांसदले सिफारिस गरेका आयोजनामा बजेट नदिएको भन्दै विरोध जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको योजनामा अहिलेको सरकारले चासो नदिएको बताएका हुन् ।
‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो । आज ती सुुुशुुप्त अवस्थामा छन् । या तिनलाई रोकिएको छ । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ’ अधिकारीले भने ।
सरकारले विकास निर्माणका आयोजनामा गम्भीर षड्यन्त्र गरेको भन्दै उनले सरकारलाई विकास विरोधीको आरोप लगाए । ‘सरकार विकास विरोधी हुनु हुँदैन । सरकारले यदि प्रतिशोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन्’ उनले भने ।
सांसद अधिकारीले केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याउँदा त्यसलाई भड्काउनेहरु अहिले सरकारमा रहेको भन्दै गुठी विधेयकको अवस्थाबारे जानकारी मागेका छन् ।
‘सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ । उहाँहरु के गर्दै हुनुहुन्छ ? हामी गम्भीरतापूर्वक सरकारबाट जवाफ चाहन्छौं’ उनले भने ।
प्रतिक्रिया 4