+
+

‘पूर्वाधार विकासलाई गति दिन पूँजीगत खर्च बढाऔं’ 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १४:१०

२९ भदौ, काठमाडौं । पूर्वाधार विकासलाई बढावा दिन पूँजीगत खर्च बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । दायित्व नेपालले बुधबार आयोजना गरेको नीति सम्वादमा बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् ।

सांसद तथा पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, सीएनआईका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, नेपाल सरकारका पूर्वसचिव तथा शहरी योजना विज्ञ किशोर थापा र पुल्चोक क्याम्पस, इन्स्टिच्यूट अफ इन्जिनियरिङकी सहरी योजना विज्ञ डा. संगीता सिंह लगायतले पूँजीगत खर्च बढाएर पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा झाँक्रीले बजेट बाँडफाँडपछि आयोजना खोज्न दौड्नुपर्ने प्रवृत्तिको कारण नेपालमा पूँजीगत खर्च हुन नसकेको बताइन् । सरकार र निजी क्षेत्रको दक्षता कम हुनु, योजना चक्र पूरा नभएका आयोजना हुनु, आयोजनामा एयरमार्क गरेभन्दा कम पैसा हुनु र लहडमा आयोजना छानिनुनै पुँजीगत खर्च नहुनुको मुख्य कारण रहेको उनको भनाइ छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले हामीले कस्तो विकास चाहन्छौं भन्ने प्रष्ट दृष्टिकोण हुनुपर्ने बताए । बाटो घाटो र पुल बनाउनु मात्रै विकास नभएको भन्दै उनले विकास आयोजना समावेशी र समन्यायिक हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले संसदमा अन्य विषयको तुलनामा आर्थिक मुद्दा उपर कमै छलफल हुने गरेको बताए ।

कार्यक्रममा नेपालमा पूँजीगत खर्चको पूर्ण उपयोग हुन नसक्नुका मुख्य कारण, आयोजना कार्यान्वयनका क्रममा देखिएका चुनौती, सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको समन्वयको अभाव, सरोकारवालाको अकुशल काम र ढिलासुस्ती, अत्यन्तै कडा नियम–कानुन, परिवर्तनशील सहरीकरणलाई अनुकूलन गर्ने, पूर्वाधार विकासको निम्ति प्राविधिक विकासको आवश्यकता लगायतका प्रमुख विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?