
२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित नहुने निर्णय गरेका छन् ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिले बोलाएको भए पनि सहभागी हुन नसक्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले संसदीय समितिमा बहालवाला न्यायाधीशहरु उपस्थित हुन नसक्ने निर्णय गरेको हो ।’
केही कारणहरु उल्लेख गरेर बैठकमा सहभागी हुन नसक्ने भनी सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो ।
स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भनी निर्णय गरेका हुन् । सर्वोच्च अदालतले पूर्ण बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसद सविचालयमा पत्र पठाइसकेको छ ।
आफूमाथि लागेको महाअभियोगका बारेमा सिफारिस समितिमा बयान दिन गएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले केही बहालवाला न्यायाधीशहरुको नाम लिएका थिए ।
समितिले जबराले नाम लिएकाहरुलाई बयानमा बोलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4