
२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएको छ ।
१६ नम्बर वडाका एक जनप्रतिनिधिका अनुसार विष्णुमती नदीको जग्गा उकास क्षेत्रलाई ओगटेर गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टर चलिरहेको थियो ।
महानगरका एक कर्मचारीका अनुसार यसअघि उक्त ड्राइभिङ सेन्टर अनुमति विना सञ्चालन भइरहेको, सार्वजनिक जग्गा ओगटेर बसेको भए पनि साँठगाँठकै आधारमा छाडिएको थियो । तर नयाँ जनप्रतिनिधि आएपछि डोजर चलाइएको हो ।
‘विष्णुमतीको नदी उकास क्षेत्रमा १५–१६ रोपनी जग्गा गुरुङ ड्राइभिङ सेन्टर र अन्य व्यक्ति ओगटेर बसेका छन् । यो विषयमा महानगरका अघिल्लो जनप्रतिनिधि र कर्मचारीलाई थाहा नभएका होइन तर सबै मौन थिए । आजबाट डोजर चलेको छ’, १६ नम्बर वडाका एक जनप्रतिनिले अनलाइनखबरसँग भने ।
ती जनप्रतिनिधिका अनुसार नदी उकास भएको सार्वजनिक जग्गामा भू–माफियाले केहि टहरा बनाएर सुकुम्बासी भनेर सरकारसँग लालपुर्जा लिने समेत तयारी छ । उनले गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टरको नाम लिए पनि अन्यको भने लिएनन् ।
उनले भने, ‘विष्णुमती किनारका धेरै जग्गा भूमाफियाहरुले कब्जा गरेका छन् । केही साँच्चै गरिब छन् तर अधिकांशले व्यापारिक प्रयोजनको लागि जग्गा हडपेका छन् । केही स्थानीयले भने किनारमा धान खेती समेत गरेका छन् ।’
काठमाडौं महानगरपालिकाले भने यो विषयमा थप नापजाँच गर्न आवश्यक रहेको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक जग्गा र नदी उकासको जग्गाको विषयमा नापी विभागबाट अमिन सहितको टोली लगेर नापजाँच गरी कारबाही गर्ने बताए । ‘आज हामीले भत्काएको ड्राइभिङ सेन्टर स्पष्ट रुपमा सार्वजनिक भएको र सञ्चालकले समेत स्वीकार गरेका छन् । अन्य स्थानको विषयमा महानगरले नापजाँच गरेर काम गर्छ,’ पाण्डेले भने ।
महाबौद्धको गल्ली खाली
काठमाडौंको व्यस्त रहने महाबौद्ध क्षेत्रको गल्लीमा सडक मिचेर राखिएको मिनी मार्केटका व्यवसायीले सडकमा सामग्री राखेको पाइएमा कारबाही गर्ने भन्दै महानगरले अनुगमन गरेको छ ।
उक्त क्षेत्रका बहाल र चोकहरुमा राखिएको पसलहरु पनि बुधबार नै महानगर प्रहरीले हटाएको छ । गल्लीमा रहेका पसलहरुले टेको लगाएर, भर्याङ राखेर, पाली हालेर राखेको सामग्रीहरु बुधबार नै महानगरले हटाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
‘महाबौद्ध, ओटु क्षेत्रका साना गल्लीमा मान्छे नै हिंड्न नसक्ने गरी राखिएका होलसेल पसल, चाइनिज मार्केट, मिनी मार्केटले अनधिकृत मिचिरहेका थिए । उनीहरुलाई तत्काल हटाएर गल्लीको क्षेत्रमा पर्ने स्थानमा कुनै पनि व्यापार गर्न नपाउने भनेर सम्झाएका छौं’, उनले भने ।
पाण्डेले कार्यान्वयनको अवस्था भोलि बिहीबार अनुगमन गरिने उनले बताए । भने, ‘नगर प्रहरीले नै उनीहरुको सामान पसल भित्र नै राखेर भोलिदेखि यस्तो नगर्न हात जोडेर आएका छौं । यदि फेरि त्यस्तो गरेको पाइएमा महानगर प्रहरीले जफत गर्नेछ, ।’
३ वटा टहरामा डोजर
बुधबार नै महानगरले सोह्रखुट्टेको अनधिकृत ३ टहरामा डोजर लगाएको छ । अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेतापनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको हो ।
सोह्रखुट्टेकै न्यू बिहान किचेन स्टोर्स र टपरी मम पसल रहेको सटरसहित भत्काएको थियो ।
यस्तै केही निजी घरले सडकपेटी मिचेर बनाएको सेटब्याक र रेलिङ पनि महानगरले भत्काएको छ । सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरीबिच विवाद समेत भएको थियो ।
थप तस्वीरहरू हेर्नुहोस् :
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4