
काठमाडौं । ‘अवतार’को पहिलो भागको पुनः प्रदर्शनसँग नेपाली फिल्मको विकासका केही किस्सा गाँसिएका छन् ।
पहिलो- नेपालमा थ्रीडी प्रविधिको सुरुवात ।
दोस्रो- नेपालसहित विश्व फिल्ममा डिजिटल प्रविधिको प्रभुत्व ।
र, तेस्रो- मल्टिप्लेक्स कल्चरको सुरुवात ।
नेपालमा ‘अवतार’ रिलिज भएको १३ वर्ष पुगिसकेको छ । २०६६ पुस २ गते रिलिज भएको यो फिल्मसँग नेपाली दर्शकको भावना मेटिएको छैन । त्यतिबेला कुमारी र जयनेपाल हलमा एक महिनासम्मै फिल्म हाउसफुल थियो ।
‘अवतार’ असोज ७ गते नेपालमा फिल्म पुनः प्रदर्शन हुँदैछ । यसबीचको १३ वर्षमा एक पुस्ताको खाडल नै भइसक्यो । फिल्म नेहेरेको पछिल्लो पुस्ताको मागलाई ख्यालमा राख्दै डिज्नेले फिल्मलाई एक साताका लागि विश्वभर पुनः प्रदर्शन गर्दैछ ।
यो पुनः प्रदर्शनभन्दा पनि पुस १ गते रिलिज तयारीमा रहेको दोस्रो श्रृंखला ‘अवतार ः द वे अफ वाटर’को वार्मअप पनि हो । अघिल्लो श्रृंखला नहेरेकालाई मौका दिएर दोस्रो श्रृंखला रिलिज गर्ने डिज्नेको व्यावसायिक रणनीति पनि हो ।
ठीक यसैगरी ‘टाइटानिक’लाई पनि जेम्स क्यामरुनले नेपालमा थ्रीडीमा रिलिज गरेका थिए । जसलाई पछिल्लो पुस्ताले रुचि दिएर हेरेको थियो । अवतार भने रि-मास्टरिङसहित फोरके प्रविधिमा रिलिज गर्न लागिएको हो ।
नेपालमा यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ । एप्पलकी जेनिस पहारीले फिल्मको पुनः प्रदर्शनलाई लिएर दर्शकबाट राम्रो सोधीखोजी गरिरहेको बताइन् । ‘राम्रो व्यापारको अपेक्षा छ,’ पहारीले भनिन्, ‘नयाँ जेनेरेसन उत्साहित भएको पाएको छु ।’
त्यतिबेलाको क्वेस्ट इन्टरटेनमेन्टले अवतारको पहिलो श्रृंखलालाई नेपालमा ल्याएको थियो । रिलिजमा राम्रो कमाइ पनि गरेको थियो । डिज्नेको नेपाल एजेन्ट भएकाले पनि एप्पलले पुस १ गते रिलिजको मौका पाएको छ ।
स्वैरकाल्पनिक पाण्डोरा ग्रहको कथावस्तु, उच्च भीएफएक्स प्रविधि र कथावाचनको अभूतपूर्व शैलीको कारण नेपाली दर्शकले पनि यसलाई रुचाएका थिए । ओटीटी प्लेटफर्मभन्दा पनि अवतारलाई हलको ठूलो पर्दामै हेर्ने पर्खाइमा धेरै दर्शक छन् ।
२.८ बिलियन डलरसहित ‘अवतार’ विश्वमा अहिलेसम्म धेरै कमाइ गर्ने फिल्म भएकाले पनि दर्शकमाझ यसको प्रतीक्षा छ । फिल्म नहेरेको पछिल्लो पुस्ताका दर्शकलाई अवतार दर्शनीय हुनसक्छ । ठूला फिल्मलाई पुनः रिलिज गर्ने हलिउडको बजार रणनीति पनि हो ।
प्रतिक्रिया 4