
३० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ ।
यसै सन्दर्भमा नेता अरगरियासँगको गरिएको कुराकानीको सम्पादित अंश :
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा स्थापित नेता हुनुहुन्थ्यो । जिम्मेवारीका दृष्टिले पनि उच्च स्थानमै हुनुहुन्थ्यो । तर, एकाएक एमाले प्रवेश गर्ने निर्णयमा पुग्नुभयो किन ?
देशको लागि एमाले चाहिएको छ । विकासको लागि एमाले चाहिएको छ । एमाले नेतृत्वको सरकारको पालामा विकासको गतिले जुन तिव्रता पाएको थियो त्यो अहिले ठप्प छ । यसकारण देश बचाउनको निम्ति, नेपाललाई आर्थिक विकासका दृष्टिले समृद्ध बनाउनको निम्ति, मधेश, पहाड, हिमाल सबैलाई एकै रुपमा अगाडि लगेर विकसित नेपाल बनाउनको एमाले रोजेको हुँ ।
यो मोटो जवाफ भयो । चुनावको मुखैमा पार्टी परिवर्तन गर्नुको कारण मोटो जवाफले पुग्छ र ?
समय अहिले मिलेको हो । म पहिले मधेशवादी राजनीतिमा थिएँ । अब मधेश केन्द्रित राजनीति छाडेर एमालेबाट अगाडि बढ्छु ।
मधेश केन्द्रित राजनीतिमा त्यस्तो के रहेछ ? जसलाई निरन्तरता दिन सक्नुभन वा चाहनुभएन ?
मधेशवादी दलहरु आफैंमा राजनीति केन्द्रित गर्ने, आफन्त, नातागोता, कृपा भन्दा माथि उठ्न सकेको छैन् । भ्रष्टाचारका हिसाबले हेर्दा पनि मधेश प्रदेश सरकामाथि धेरै नै आरोपहरु लागेका छन्, एउटा ठोस योजना कार्यक्रम राख्न सकेको छैन् । यसकारणले पनि र देशको निम्ति एमाले रोज्नुपरेको हो ।
कुनैबेला एमालेलाई मधेशमा निषेध गर्ने भनेर चालेको अभियानमा हुनुहुन्थ्यो । त्यो ‘एमाले मुक्त मधेश’ बनाउने अभियान छाडेर एमालेमै प्रवेश गर्दा कार्यकर्ताहरु आश्चर्यचकित हुँदैनन ? एकाएक किन बदलिएको भनेर प्रश्न गर्दैनन ?
एकाएक बदलिएको होइन । जतिबेला म मधेशको राजनीति (मधेश केन्द्रित) गर्दथेँ त्यतिबेला एमाले र एमाले अध्यक्ष केपी ओलीको सबैभन्दा बढी आलोचक मै थिएँ, म आलोचना गर्दथेँ । तर, ओलीजीको कार्यशैली जब नजिकबाट हेरेँ, उहाँ नेतृत्वको सरकारको विधि विकास हेरेँ, उहाँमा निष्ठा र इमानदारिता पाएँ । ओलीजीले आफ्नो सम्पत्ति पनि राष्ट्रको नाममा गर्नुभएको छ । यसले गर्दा विगतको दृष्टि बदलिएको छ ।
हिजो मधेश विरोधी भनिएका ओली त्यस्तो रहेनछन भन्ने तपाईंलाई लाग्यो । अझ उनी राष्ट्रवादी रहेछन भन्ने बुझ्नुभयो र मधेश केन्द्रित राजनीति छोडेर एमालेमै जाने निर्णय गर्नुभयो त्यसो भए ?
हिजो पनि हामीले उहाँ (केपी ओली)ले भन्दा टाढा हेरेर बोलेका थियौं । तर, अहिले वास्तवमा हेर्नुहुन्छ भने यो मुलुकलाई केपी ओली चाहिएको छ । हामीले मुलुकको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने भयो ।
अहिलेको गठबन्धनको सरकारलाई हेर्दा– भ्रष्टाचार व्याप्त छ । मुलुकको आफ्नै ढुकुटीबाट कर्मचारीलाई तलब दिन सकिइरहेको छैन् । यसकारण देश कता जाँदैछ ? यसकारण देश बचाउनुपर्ने भयो । यसकारण केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउने चाहना छ ।
हिजो टाढाबाट हेर्दा केपी ओली मधेश विरोधी देखिन्थे । नजिकबाट हेर्दा राष्ट्रवादी देख्नुभयो हैन त ?
केपी ओली एकदम राष्ट्रवादी हुनुहुन्छ । यो देशको कायापलट गर्ने क्षमता उहाँसँग मात्रै छ । यो देशमा उहाँ जस्तो अरु कुनै नेता छ भने देखाइदिनु्स । छैन भनेपछि उहाँलाई साथ दिनुपर्छ । यही कुरा बुझेर म एमालेतिर कन्भिन्स भएको हुँ ।
केपी ओलीलाई हेर्ने विगतको दृष्टि फेरिनुको कारणहरु त पक्कै होला । ठोस रुपमा पनि भन्न सक्नुहुन्छ कि यस्तै सैद्धान्तिक विषय हो राष्ट्रवादी यस्तै उस्तै ?
उहाँको सरकारको पालामा विकासले जसरी तिव्रता लियो त्यो त सबैले देखेका छन् । देश विकासतिर उन्मुख भएको थियो । तर, गठबन्धन सरकार बनेपछि विकास ठप्प भएको छ । ठप्प भएको विकासलाई तिव्रता दिनुपर्ने छ । हिमाल, पहाड र मधेशलाई समृद्ध बनाउन केपी ओलीको विकल्प कसैले देख्दैन् ।
उहाँ (केपी ओली) राजनेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बाटोमा लैजाने एउटै मूल नेता हुनुहुन्छ ।
आफैंले बनाएको संविधानको आफैंले उल्लंघन गर्यो भनेर केपी ओली नेतृत्वको सरकार ढाल्न सडकमा हुनुहुन्थ्यो । केही समयमै उहाँको सरकार ढल्यो । सरकारमा हुँदा विरोध गर्ने, सरकारबाट बाहिर निस्केपछि राजनेता भन्ने यो त बडा गज्जबको भएन र ?
जब सरकारले रामोसँग काम गर्दैन भने जनतामा जानु नराम्रो होइन । त्यतिबेला पनि मैले यो कुरा भनेको थिएँ । जनतामा जान खोज्नु न्यायिक कुरा हो । परमादेशबाट सरकार बनेपछि त मैले गैरसंवैधानिक भयो भनेर सार्वजनिक रुपमै भनेको थिएँ ।
एमालेबाट संघीय सांसद पदको लागि टिकट टुंगो लाग्यो ?
टिकटको कुरा मेरो भएको छैन् । पार्टीले जो निर्णय गर्छ त्यसमा मेरो समर्थन रहनेछ । म टिकटको लागि एमालेसँग कन्भिन्स भएको हैन देशका लागि हो । कसले देशलाई सही दिशामा लान सक्छ भन्ने हेरेको हुँ ।
उसो भए अब, मधेशमय एमाले बनाउने तपाईंको राजनीतिक उदेश्य होला हैन ?
विश्वास गर्नुहोस्, चुनावपछि मधेश प्रदेशमा एमालेकै सरकार बन्छ ।
प्रतिक्रिया 4