
३० भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो श्रीमतीबारे दुष्प्रचार गरेको बताएका छन् ।
महाअभियोग सिफारिस समितिमा बिहीबार बयान दिने क्रममा जबराले पुनदेवी महर्जनलाई न्यायाधीश नबनाएकै कारण अर्याल आफूविरुद्ध लागेको दाबी गरेका थिए ।
बिहीबार समितिले अर्यालसहित जबराले नाम ल्याएका कानुन व्यवसायीहरुलाई बोलाएको थियो । समितिमा उपस्थित भएका अर्यालले भने, ‘जबराले आफ्नो सफाइ पेस गर्नुपर्नेमा मेरो र श्रीमतीको नाममा कुप्रचार गरे । के कति आधारमा आरोप लगाएको हो, उहाँलाई अगाडि राखेर सत्य तथ्य बुझ्नुपर्छ ।’
अर्यालका अनुसार उनीकी श्रीमती पुनदेवी महर्जनले न्याय परिषदमा प्रक्रियाअनुसार न्यायाधीश बन्न निवेदन दिएकी थिइन् । ‘२४ वर्षदेखि वकालत गर्दै आउनुभएको हो । मसँग विवाह हुनुअघि नै उहाँ वकालतमा हुनुहुन्थ्यो । सर्वाेच्चको वैतानिक वकिल हुनुहुन्थ्यो’, अधिवक्ता अर्यालले भने, ‘तर चण्डेश्वरसँग आजसम्म पुनदेवीको कुरा भएको छैन । जबरासँग कसले सिफारिस गर्यो म सोध्न चाहन्छु ? सिफारिस गएकोमा कदापि विश्वास लाग्दैन ।’
अधिवक्ता अर्यालले व्यक्तिगत प्रतिशोधका कारण नभई पुष्टि हुने आधार भएकाले प्रत्यक्ष रूपमा संलग्न भएर जबराविरुद्ध सम्पत्ति शुद्वीकरणमा उजुरी दिएको बताए ।
‘सडकबाट वकिलले कसरी योगदान दिन्छ भनेर जोखिम मोलेको हुँ’, उनले भनेका छन्, ‘जबराबाट चरित्र हत्या गर्ने काम भएको छ । महाभियोगयुक्त मान्छेले दुष्प्रचार गरे कानुनी उपचार लिन बाध्य हुनेछु ।’
प्रतिक्रिया 4