
काठमाडौं । चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समिति विवादमा तानिएको छ ।
नीर शाहको संयोजकत्वमा बोर्डले गठन गरेको समितिमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् । यी सबै कांग्रेस र अध्यक्ष केसी निकट फिल्मकर्मी हुन् ।
तर गठन भएको २४ घण्टा नबित्दै समिति विवादमा तानिएको छ । चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित अन्य फिल्मकर्मीले समेत समिति समावेशी नभएको भन्दै विरोध जनाएका छन् ।
बोर्ड सदस्य र कर्मचारी नै सल्लाहकार हुनुपर्ने तर्क गर्दै यज्ञशले बोर्डको सल्लाहकारमा एक जना पनि महिला नभएको भन्दै विरोध गरेका छन् । ‘पहिलो भएर पनि थाहा नभएको हो कि पहिलोचोटि यस्तो समिति बनेको थाहा भएन । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानतः अंगीकार गरेको कुरा हो,’ यज्ञशले लेखेका छन् ।
सरकारी नियुक्ति र मनोनयन समावेशी सिद्धान्तअनुसार नै हुनुपर्ने उनले बताएका छन् । फिल्म निर्देशक तथा समीक्षक समाजका अध्यक्ष लामाले पनि एक जना महिला नसमेटेकोप्रति विरोध जनाएका छन् ।
उनी लेख्छन्, ‘अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्याएनन्, पुर्याएनन् । सल्लाहकार समितिका संयोजक नीर शाहले समेत यो अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि कांग्रेसीजनले समावेशिताको सिद्धान्त पोलेर खाएका हुन् ?’
कतिपयले उनीहरुको टिप्पणीमा सल्लाहकार समितिमा राखिएका व्यक्तिको क्षमता र योगदानमै प्रश्न उठाएका छन् ।
चलचित्र विकास बोर्डको बैठक बिहीबार अबेरसम्म बसेको थियो, जहाँ सल्लाहकार समिति गठनदेखि ‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई नेपाली फिल्मसरह सेवासुविधा दिनेबारे छलफल भएको थियो ।
बैठकले ‘प्रेमगीत ३’का निर्मातालाई नियमानुसार कागजपत्र पेश गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4