
३१ भदौ, सुर्खेत । जब चुनाव नजिकिन्छ, सुर्खेतका कांग्रेस कार्यकर्ताहरु पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीसँगै भएको एउटा तस्वीर सामाजिक सञ्जालमा शेयर गर्न थाल्छन् । कतिपयले यी दुई नेता एक ठाउँ भएको हेर्न आशा व्यक्त गर्छन् । किनकि कांग्रेसका यी दुई नेताबीच सम्बन्ध तिक्ततापूर्ण छ ।
‘पछिल्लो पटक २०७४ सालमा जिल्ला समन्वय समिति संयोजक सिफारिस गर्न पार्टी कार्यालयमा बोलाइएको बैठकमा दुई नेता सँगै देखिनुभएको थियो’ काग्रेसका एकजना जिल्ला नेताले अनलाइनखबरसँग भने, ‘त्यसयता उहाँहरुको भेटघाट, बोलचाल भएको छैन ।’
सुर्खेत कांग्रेसमा खड्काले संस्थापन र थानीले इतर समूहको नेतृत्व गर्दै आएका छन् । दुवै पक्षले एक–अर्कालाई गुटगत राजनीति गरेको आरोप लगाउँछन् । यी दुई नेताको गुटबन्दी कर्णाली प्रदेशभर फैलिएको छ । दुई नेताको समानान्तर गतिविधि गाउँ–गाउँ पुगेको छ । नेता–कार्यकताहरु खड्का र थानी समूह भनेरै चिनिने गरेका छन् ।
केन्द्रीय उपसभापति खड्काको पेलानबाट आजित थानी पक्ष पछिल्लो समय अझ चिढिएको छ । थानी पक्षीय नेताहरु खड्काको घमण्डको अगाडि संवाद अर्थहीन भएको बताउँछन् । एक नेता भन्छन्, ‘पूर्ण दाइको घमण्डले सुर्खेतमा पार्टी नै सकिएला भन्ने डर छ ।’
खड्का पक्षका नेताहरु भने जुनियर भएकाले थानी पक्षले अलि लचकता देखाउनुपर्ने बताउँछन् । ‘थानी दाइ गुटको घेराबाट माथि नउठेसम्म समस्या रहन्छ’, खड्का समूहका एक नेता भन्छन् ।
१४ औं महाधिवेशनबाट बढेको दुरी
पार्टीको १३ औं महाधिवेशनसम्म कांग्रेस सुर्खेतको नेतृत्वमा थानी समूहको बर्चश्व रह्यो । पार्टी केन्द्रमा बलियो पकड बनाएका खड्का गृह जिल्लामा भने कमजोर रहे । सुर्खेत मात्र हैन, कर्णाली प्रदेशका १० मध्ये हुम्लाबाहेक ९ जिल्लाका सभापति थानी समूहका भए ।

पार्टी केन्द्रमा कोइराला परिवारको गुट बलियो रहेको बेला त्यही खेमाका थानी सुर्खेतमा मात्र नभई कर्णालीभरमा बलिया थिए । ‘पावरमा हुँदा थानी दाइले पूर्ण दाइलाई जिल्लामा निषेध जस्तै गर्नुभयो’, खड्का समूहका एक नेता भन्छन्, ‘अहिले पूर्ण दाइ पावरमा हुँदा थानी दाइ पेलाइमा पर्नु स्वाभाविकै पनि हो ।’
१४औं महाधिवेशनपछि भने सुर्खेतका पालिका र वडादेखि जिल्लासम्म खड्का गुटको बोलवाला भयो । पार्टीको केन्द्रीय उपसभापतिमा सर्वाधिक मतका साथ खड्का विजयी बन्दै गर्दा कर्णाली भूगोलबाट केन्द्रीय सदस्य लडेका थानी एक मतले हारे । त्यो हारमा खड्काको मुख्य भूमिका रहेको थानी समूहका नेताहरु बताउँछन् ।
१४औं महाधिवेशनको तिक्तता गत स्थानिय तह निर्वाचनमा झनै बढ्यो । यो तिक्तताले थानी समूहलाई अझ कमजोर बनायो भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई रिझाएका खड्काको योजना अनुसार सुर्खेत मात्र नभई सिंगो कर्णाली प्रदेशमा कांग्रेस हिँड्न थाल्यो ।
अन्तरघातले दिलाएको हार
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा खड्का र थानी समूहको गुटबन्दीकै कारण सुर्खेतमा कांग्रेसले अपेक्षित परिणाम नपाएको दुबै पक्षका नेताहरु स्वीकार्छन् ।
पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा कांग्रेस र नेकपा एमालेले ४–४ अनि नेकपा माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पायो । त्यसअघि २०७४ सालमा कांग्रेसले ६ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको भेरीगंगा र वीरेन्द्रनगर नगरपालिका समेत यसपटक गुमायो ।
खड्काले प्रदेश र जिल्ला नेतृत्वमा आफ्नो पकड भएको लाभ लिंदै गत स्थानीय चुनावको टिकट वितरणमा थानी गुटलाई पूर्ण निषेध गरे । सुर्खेतका ९ पालिकामध्ये एउटामा पनि थानी निकटले टिकट पाएनन् ।
थानीको गृहनगर वीरेन्द्रनगरको मेयरमा उनको समूहले पूर्वक्षेत्रीय सभापति नारायण कोइरालालाई अगाडि सारीसकेकोमा खड्का निकट उपेन्द्रबहादुर खड्काले टिकट पाए । आफूले टिकट पाएपछि थानी समूहले असहयोग गर्यो । परिणाम्, उपेन्द्रबहादुर हारे ।
२०७४ मा कांग्रेसकै देवकुमार सुवेदीले जितेको वीरेन्द्रनगरमा यसपटक अन्तरघात गरेको कोइराला लगायत थानी समूहका दर्जनौं नेता–कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिएको छ ।
‘उपेन्द्रलाई पार्टी उपसभापतिका मान्छे भनेर हराउन थानी दाइ नै लाग्नुभयो’, खड्का निकट एक नेता भन्छन्, ‘कर्णालीमा कांग्रेसलाई जोगाउन यी दुई नेताको मेलमिलाप धेरै जरुरी भयो ।’
त्यस्तै, थानी पक्षका एक नेता भन्छन्, ‘पार्टीले उम्मेद्वार छान्दा नै ध्यान नदिंदा हारियो । थानी दाइ नै हराउनतिर लाग्नुभयो भन्नु हावा कुरा हो ।’
एउटै गुटका नेता कसरी भए अलग ?
२०५१ सालसम्म कांग्रेस केन्द्रमा पार्टी सभापति कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छुट्टै समूह थियो । थानी र खड्का भट्टराई समूहमा थिए । त्यो बेला सुर्खेतमा कोइराला गुटको नेतृत्व शिवराज जोशीले गरेका थिए ।
२०४८ सालको संसदीय चुनावमा सुर्खेत–१ बाट खड्का र २ बाट थानी सिफारिस भएका थिए । तर, कोइराला परिवार निकट जोशीले क्षेत्र नम्बर २ को टिकट पाएपछि बन्चित भएका थानी सुर्खेत–१ मा खड्कालाई जिताउने अभियानमा लागे, जिताए पनि ।
२०४९ को स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगरको मेयरमा उठ्न चाहन्थे थानी, तर खड्काले आफू निकट कालिप्रसाद शाक्यलाई टिकट दिलाउन भूमिका खेलेपछि पुराना नेता प्रेमदेव गिरीलाई बागी उम्मेद्वार बनाए । आफू पनि वीरेन्द्रनगर–१ को वडाअध्यक्षमा निर्वाचित भए ।
मेयरमा कांग्रेसको बागी उम्मेद्वार उठेको लाभ लिंदै एमालेका यामलाल कँडेल विजयी भए । वडा नं. १ का अध्यक्ष थानी जिल्ला विकास समितिको सभापति बन्ने प्रयासमा लाग्दा कांग्रेसको सुर्खेत जिल्ला सभापति रहेका खड्काले टिकट गोविन्द मल्ललाई दिए ।
जिविस सभापति पनि बन्न नपाएपछि थानी पार्टीको क्षेत्रीय सदस्य बन्ने प्रयासमा लागे, तर खड्काले त्यो पनि हुन दिएनन् । त्यसरी पेलानमा परेका थानीले २०५१ को संसदीय निर्वाचनताका गुट नै परिवर्तन गरेर कोइराला क्याम्पबाट सुर्खेत २ को टिकट हात पारे, जित्न भने सकेनन् । उनले हारको पछाडि खड्का समूहको हात देख्ने नै भए ।
त्यसपछि सुर्खेत कांग्रेसमा दुई गुट औपचारिक रुपमा सुरु भयो । दुवै समूह आ–आफ्नो राजनीति सपार्न तल्लिन भए । २०५१ देखि २०७८ सालसम्म थानीले सुर्खेत कांग्रेसको नेतृत्वमा पकड जमाएर खड्का समूहलाई पेलानमा राखे ।
‘थानी दाइले हामीलाई २६ वर्ष दबाउनुभयो’, खड्का समूहका एक नेता भन्छन्, ‘आफूले नेतृत्व गुमाएको एक वर्ष पनि भएको छैन, पेलानमा पर्यौं, दबियौं भन्दै हिँड्नु हुन्छ ।’
सम्बन्ध नसुध्रिए थप क्षति
सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानीको सम्बन्ध सुधार नभए संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले नराम्ररी क्षति व्यहोर्ने जिल्ला तहका नेताहरु बताउँछन् ।
खड्का र थानीको गठजोड भए सुर्खेतमा सत्ता गठबन्धनले प्रतिनिधि सभामा दुबै र प्रदेश सभामा चार सिट जित्न सक्ने जिल्ला नेताहरुको आकलन छ ।
‘तर, जिल्लाका मुख्य नेताहरु खड्का र थानी वर्षौं पुरानो रिस मनमा राखेर एकले अर्कालाई हराउन लागिपरेका छन्, जबकी, उनीहरु प्रतिस्पर्धी नेता नै होइनन् र पनि मिल्दैनन्’, एक नेताले भने, ‘यसबाट कार्यकर्ता तहसम्मै नकारात्मक मनोविज्ञान बढेको छ ।’
सुर्खेत जिल्ला इन्चार्ज रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झक्कबहादुर मल्ल आगामी निर्वाचनमा सुर्खेतमा सत्ता साझेदार दलहरुको विजयको लागि गठबन्धनको इमान्दारीसँगै कांग्रेसका खड्का र थानीको मिल्ती जरुरी हुने बताउँछन् ।
‘गठबन्धनभित्र इमान्दारीता कायम रह्यो र कांग्रेसमा अन्तरघात भएन भने सुर्खेतका सबै निर्वाचन क्षेत्र गठबन्धनले जित्छ’, उनी भन्छन् ।
सुर्खेतमा कांग्रेस र एमालेपछि माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा छ । वाम गठबन्धन भएको २०७४ को संसदीय निर्वाचनमा खड्का, थानी लगायत कांग्रेस नेताहरु फराकिलो मत अन्तरले पराजित भएका थिए ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सिट रहेको सुर्खेतमा क्षेत्र नम्बर १ (ख) र २ (ख) माओवादीलाई दिएर अरु सबै आफूले लिने गरी सहमति गर्ने कांग्रेसको तयारी छ । त्यो अवस्थामा क्षेत्र नम्बर २ र २ (क) आफूले पाउनुपर्ने थानी पक्षको अडान छ । ‘पूर्ण दाइले क्षेत्र १ र १ (क)मा आफ्ना समूहका उम्मेद्वार उठाउँदा भयो’, थानी निकट एक नेताले भने, ‘तर, २ र २ (क) हामीलाई नदिए कुरा मिल्नेवाला छैन ।’
खड्का समूहका नेताहरु भने २ (क) कसैले आश नगर्दा हुने बताउँछन् । ‘गुटबन्दी व्यवस्थापन गर्न थानीलाई प्रतिनिधि सभाको क्षेत्र २ दिइएकै छ’, एक नेताले भने, ‘थानी दाइलाई नेता मान्न हामी तयारै छौं, उहाँले भनेका सबैलाई त मान्दैनौं नि !’
खड्का–थानी मिलन सम्भव छ ?
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत स्थानीय तह निर्वाचनको संघारमा खड्का र थानीलाई मिलाउने प्रयास गरेका थिए । तर, वार्ताका लागि बोलाउँदा खड्का जानै मानेनन् । ‘थानीसँग कुरा गर्नलाई मेरो हैसियत नै मिल्दैन भन्दै खड्काले ठाडै इन्कार गर्नुभयो,’ पौडेल निकट एक नेताले भने, ‘यी दुई नेताको सम्बन्ध ‘इगो’मा अड्किएको छ ।’
खड्का गुटका नेताहरु थानीले पार्टीको हित हेर्दै नहेरेको आरोप लगाउँछन् । ‘यी दुईबीच मेलमिलाप होला जस्तो मलाई चाहिं लाग्दैन । पार्टीको स्वार्थमा लागे पो मिलन, गुटको स्वार्थमा लागे के मिलन ?’, एक नेताले भने ।
प्रतिक्रिया 4