
३१ भदौ, काठमाडौ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा पर्ने चुहानडाँडा विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए)का लागि आयोजनाले सरोकारवालासँग सुझाव माग गरेको छ ।
यो विमानस्थलको सम्भाव्यता अध्ययनका सिलसिलामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका उच्च पदस्थ अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरी आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनका लागि सरोकारवालासँग सुझाव माग गरेको हो ।
चुहानडाँडामा ६४० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग बन्दैछ । यहाँ ३० मिटर लामो र १५ मिटर चौडाइको ट्याक्सी वे बन्ने छ । जहाज पार्किङ गर्न ६० मिटर लामो र ३० मिटर चौडाइको एप्रोन बन्ने छ ।
यसबाहेक विमानस्थल टर्मिनल, स्टाफ क्वाटर, पार्किङसहितका संरचना समेत यहाँ बन्ने छ । विमानस्थल कुल ११ हेक्टर क्षेत्रफलमा बन्ने छ ।
आयोजनाले यस भेगको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पार्ने प्रभावबारे प्राधिकरणले सरोकारवालाबाट सुझाव मागेको हो ।
प्रतिक्रिया 4