
३१ भदौ, पोखरा । कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ ।
सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ ।
‘…मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारवाही हुनेसमेत व्यहोरा जानकारी गराइन्छ,’ सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसी हस्ताक्षरित सूचनामा भनिएको छ ।
गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीले ३२ जनामा, गोरखा र बागलुङमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसअघि सन् २०१९ मा गण्डकीमा डेंगु महामारीका रुपमा देखा परेको थियो । उक्त वर्ष २ हजार ६५० जनालाई डेंगु संक्रमन भएको थियो ।
प्रतिक्रिया 4