
काठमाडौं । गठन नभएको एक दिन नबित्दै सल्लाहकार समिति विवादमा मुछिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन् ।
यसको आधिकारिक घोषणा आइतबार गर्ने तयारी भएको एक बोर्ड सदस्यले अनलाइनखबरलाई जानकारी दिए । समितिमा महिला सदस्यलाई नराखिंदा समावेशी नभएको भन्दै समीक्षकहरुले प्रश्न उठाएपछि भुवनले फिल्म निर्देशक तथा अभिनेत्री निरौलालाई सदस्यमा ल्याएका हुन् ।
बिहीबार बेलुका बसेको बोर्डको बैठकले निर्देशक नीर शाहको नेतृत्वमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।
जब समिति गठनको कुरा बाहिर आयो तब समावेशी नभएको भन्दै फिल्मकर्मी असन्तुष्ट थिए । सल्लाहकार समितिको काम बोर्ड अध्यक्षलाई सल्लाह र परामर्श दिने हो ।
तर समावेशी भन्दा पनि आफू निकट दल र व्यक्तिलाई नियुक्ति दिइएको भन्दै कतिपयले असन्तुष्टि पनि व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया 4