+

महिलामा यौनाङ्गको संक्रमण पुरुषको तुलनामा ६० प्रतिशत बढी छ : डा. गरिमा श्रेष्ठ

२०७९ भदौ  ३१ गते १८:५७ २०७९ भदौ ३१ गते १८:५७
महिलामा यौनाङ्गको संक्रमण पुरुषको तुलनामा ६० प्रतिशत बढी छ : डा. गरिमा श्रेष्ठ

काठमाडौं । थुप्रै महिल जो आफ्नो समस्या लुकाएर बसिरहेका छन् । खासगरी प्रजनन् स्वास्थ्य वा यौनाङ्गका समस्यालाई उनीहरु खुलेर बताउन सकिरहेका हुँदैनन् । परिवारभित्र पनि यौन स्वास्थ्यका विषयमा खुलेर कुराकानी नहुनु र महिलाहरु बढी संकोच मान्ने भएकाले यस्ता समस्याले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ ।

यौनाङ्ग चिलाउने, संक्रमण हुने, सेतो पानी बग्ने, दुर्गन्ध आउने जस्ता थुप्रै समस्या हुन्छन् । सामान्य सरसफाइको अभावमा हुने संक्रमणले कतिपय जटिल स्थिति पनि निम्त्याउने गरेका छन् । अतः यौनाङ्गको सरसफाइ कसरी गर्ने ? साबुन प्रयोग गर्न हुन्छ वा हुँदैन ? यौनाङ्गको रौं हटाउनु उचित हुन्छ वा हुँदैन ? यिनै विषयमा डा. गरिमा श्रेष्ठसँग अनलाइनखबरकी सुमित्रा लुइटेलले कुराकानी गरेका छन् ।

महिला यौनाङ्गमा हुने आम समस्या के हो ?

महिला यौनाङ्गमा हुने आम समस्या ‘युरिनरी ट्रयाक इन्फेक्सन’ मूत्र नलीको संक्रमण, फंगल इन्फेक्सन, भाइरल इन्फेक्सन ‘ह्युमन पेपोल्युमा भाइरस’ जसको कारणले पाठेघरको क्यान्सर समेत हुन्छ । तर सबैभन्दा धेरै देखिने भनेको मूत्र नलीको संक्रमण नै हो । जसको कारण भनेको संक्रमणयुक्त कीटाणु हो ।

प्रजनन अंगमा बाह्य संक्रमण हुने भय कति हुन्छ ?

प्रजनन् अंगमा बाह्य संक्रमण हुने भय एकदमै धेरै हुन्छ, किनकि यो शरीरको सबैभन्दा संवेदनशील अंग हो । पुरुषको तुलनामा महिलाको प्रजनन् अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ । किनकि पुरुषको भन्दा महिलाको मूत्र नली सानो हुन्छ, जसले गर्दा संक्रमण छिटो भित्र पुग्छ । प्रजनन् अंगमा बाह्य संक्रमण हुने भए पुरुषको तुलनामा महिलामा ६० प्रतिशत बढी हुन्छ ।

के कस्ता संक्रमण हुन सक्छ र त्यसले कति गम्भीर असर पार्न सक्छ ?

प्रजनन् अंगमा मूत्र नलीको इन्फेक्सन, फंगल इन्फेक्सन, भाइरल इन्फेक्सन लगायतका धेरै प्रकारको संक्रमण हुन्छ । सबै प्रकारका संक्रमणले शरीरमा अन्य गम्भीर समस्या पनि निम्ताउन सक्छ । त्यसैले संक्रमणको समयमै उपचार गर्नुपर्ने हुन्छ ।

अन्यथा समयमा उपचार भएन भने त्यो संक्रमणको कीटाणु रगतसम्म पुग्छ र रगतमा संक्रमण गर्छ । रगतमा पनि संक्रमण हुन्छ जसलाई ‘सेप्सिस’ भनिन्छ । सेप्सिस भएपछि औषधिले मात्र उपचार नहुन पनि सक्छ बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने हुनसक्छ । त्यसैले सबै प्रकारको संक्रमणको समयमा नै उपचार गरिनुपर्छ ।

मासिक स्राव, गर्भावस्था आदिमा यौनाङ्गको सफाइ नहुँदा के कस्ता समस्या हुनसक्छ ?

मासिक स्राव, गर्भावस्थामा यौनाङ्गको सफाइमा एकदमै ध्यान दिनुपर्छ । तर मासिक स्राव, गर्भावस्थामा मात्र हैन, अन्य समयमा पनि यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ ।

महिनावारीको बेला हाम्रो यौनाङ्गबाट रगत बगिरहेको हुन्छ । रगतमा कीटाणु छिटो फैलने भएकोले पनि महिनावारीको बेला यौनाङ्गलाई समय समयमा सफा गरिरहनुपर्छ । त्यसको साथै गर्भावस्थामा सेतो पानी बग्ने धेरै पटक पिसाब लाग्ने भएकाले गर्भावस्थामा पनि अन्य बेला भन्दा अझै बढी सरसफाइमा ध्यान दिनुपर्छ ।

यौनाङ्ग सरसफाइ गर्ने क्रममा आम महिलाले के कस्ता गल्ती गरिरहेका हुन्छन् ?

आम महिलाले यौनाङ्गको सरसफाइ गर्ने क्रममा गर्ने सामान्य गल्ती भनेको साबुनपानीको प्रयोग गरेर यौनाङ्ग सफा गर्नु हो । विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने नेपाल मात्र होइन, प्रायः देशहरूमा यो गल्ती गरिएको देखिन्छ ।

मैले त यौनाङ्गको सरसफाइमा एकदमै ध्यान दिएको छु, दिनकै साबुन पानीले यौनाङ्ग सफा गर्छु तै पनि मलाई इन्फेक्सन भयो भन्दै धेरै जना अस्पताल आइरहेका हुन्छन् ।

साबुनपानीले यौनाङ्ग सफा गर्नु गलत हो । हामीले कहिले पनि साबुन पानीको प्रयोग गरेर यौनाङ्ग सफा गर्नु हुँदैन । किनकि यौनाङ्गमा ‘नर्मल फ्लोरा’ राम्रो कीटाणु हुन्छ जसले नराम्रो कीटाणुलाई रोक्न सहयोग गरेको हुन्छ । र त, यदि हामीले दैनिक रूपमा साबुनपानीले यौनाङ्ग सफा गर्‍यो भने त्यो राम्रो कीटाणु पखालिन्छ र नराम्रो कीटाणु छिटो भित्र पस्छ र संक्रमण गराउँछ । त्यसैले साबुनको प्रयोग नगरेर सफा पानीले मात्र यौनाङ्ग सफा गर्नुपर्छ ।

शारीरिक सम्पर्कपछि यौनाङ्गको सरसफाइ गर्नुपर्छ भन्ने चेत नेपाली समाजमा कति छ ? यस बेला सरसफाइ नगरिए के कस्ता संक्रमण हुनसक्छ ?

शारीरिक सम्पर्कपछि यौनाङ्गको सरसफाइ गर्नुपर्छ भन्ने चेत नेपाली समाजमा एकदमै कम छ । किनकि प्रजनन स्वास्थ्य र यौनको विषयमा मान्छेहरू खुलेर कुरा गर्न नै चाहँदैनन् र यसबारे जानकारी पनि कम छ । स्कुलस्तरदेखि नै यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यको बारेमा जानकारी दिइएको भए यस्तो समस्या हुने थिएन ।

शारीरिक सम्पर्कपछि यौनाङ्ग सफा गर्नु एकदमै जरुरी हुन्छ, किनकि यौन सम्पर्कपछि यौन रोग र मूत्र नलीको संक्रमण हुने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले यौन सम्पर्कपछि पिसाब फेर्नुपर्छ, यसो गर्दा मूत्र नलीको संक्रमण हुने सम्भावना कम हुन्छ । पिसाब गरिसकेपछि यौनाङ्गलाई सफा पानीले सफा गर्नुपर्छ ।

प्युबिक हेयर हटाउनु उचित हो वा होइन ?

प्युबिक हेयर हटाउनु उचित हो, यसले फंगल इन्फेक्सन लगायत विभिन्न इन्फेक्सनबाट बचाउँछ । तर हेयर हटाउँदा केही कुराहरूमा भने विशेष ध्यान दिनुपर्छ । प्युबिक हेयरलाई सेभ गरेर हटाउने हो भने राम्ररी सबै निस्कने गरी सेभ गर्नुपर्छ । राम्ररी सेभ गरिएन भने हेयरबाट नै संक्रमण हुने सम्भावना हुन्छ ।

अहिले बजारमा धेरै प्रविधिहरू भित्रिएका छन् । प्युबिक हेयरलाइ र वाक्स तथा लेजर हेयर रिमुभलबाट पनि हटाउन सकिन्छ । त्यसैले प्युबिक हेयर हटाउनु उचित हो, तर कुन तरिका अपनाउने त्यसमा भने ध्यान दिनुपर्छ ।

सामान्यतया इनर वेयर कति अवधिमा फेर्नु उचित हुन्छ ?

सामान्यतया दैनिक रूपमा इनर वेयर परिवर्तन गर्नु उचित हुन्छ । महिनावारी भएको समयमा भने दिनमा दुई पटक परिवर्तन गर्नुपर्छ । महिनावारीको समयमा तथा अन्य समयमा यौनाङ्गको सरसफाइमा ध्यान नदिएको कारणले नै पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि हुन्छ ।

महिनावारी भएको बेला समय-समयमा प्याड परिवर्तन गर्ने र इनर वेयर परिवर्तन गरेर सरसफाइमा ध्यान दिइयो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई कम गर्न सकिन्छ

डा. गरिमा श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?