+

भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

२०७९ भदौ  ३१ गते १९:१९ २०७९ भदौ ३१ गते १९:१९
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

३१ भदौ, काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रीति राईको पासमा उनले निर्णायक गोल गरिन् ।

यसअघि प्रीति राईले ३३ औं मिनेटमा डी–बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाव बनाउन थाल्यो । ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् ।

६४ मिनेटमा प्रीति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

पाँच पटकको विजेता भारतले दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन । तर भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत गर्‍यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा गोल नथपे पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन् ।

नेपाल महिला साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय