
१ असोज, काठमाडौं । युरोपियन आयोगद्वारा आयोजित ‘युथ पोलिटिकल एण्ड सिभिक इन्गेजमेन्ट कोहर्ट’ को साझेदार नेतृत्व (सहनेतृत्व) को रुपमा नेपाल सहभागी भएको छ ।
अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस (सेप्टेम्बर १५) को अवसर पारेर वेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरिएको कार्यक्रममा (सहनेतृत्वको रुपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहितको नेपाली टोली शनिबार बिहान स्वदेश फर्किएको हो ।
नेपालमा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र अन्य युवा केन्द्रित संघसंस्था मार्फत् युवा गतिविधिमा सकारात्मक काम तथा पहलकदमी भइरहेको भन्दै युरोपियन आयोगले नेपाललाई सहनेतृत्वको रुपमा प्रस्ताव गरेअनुसार नेपालले सहनेतृत्वको रुपमा उक्त कार्यक्रममा भाग लिएको हो ।
कार्यक्रममा भाग लिन राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सहितको नेपाली टोली गत सोमबार त्यसतर्फ प्रस्थान गरेको थियोे ।
कार्यक्रममा नेपाली पक्षले युवा सशक्तीकरणका निम्ति नीति निर्माण तहमा युवाको अधिकतम् सहभागिता, लोकतान्त्रिक प्रक्रियामा युवाको हस्तक्षेपकारी भूमिका र स्थानीय तहमा युवा नेतृत्वको बलियो उपस्थिति सुनिश्चित हुनुपर्नेमा जोड दिएको परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नयाँ संविधान जारी भएपछि संघीयताको मर्म अनुसार युवा परिषदलाई संघ, प्रदेश र स्थानीय गरी तिनै तहमा विस्तार र विकास गर्ने तयारी अघि बढेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताए ।
नेपाली टोलीमा विभिन्न युवा संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रदीप खतिवडा, सन्तोष थापा, विकल राई र प्रेक्षा विमली समेत सहभागी थिए ।
प्रतिक्रिया 4