
१ असोज, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानूनी समस्याका कारण प्रदेश सरकारले शिक्षा क्षेत्रमा चाहे जति काम गर्न नसकेको बताएका छन् ।
डोटी बहुमुखी क्याम्पसमा निर्माण हुने भवनको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले कानून नबनाउँदा आफुलाई काम गर्न समस्या भएको बताए । ‘संविधानमा आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तह र उच्च शिक्षा प्रदेशको अधिकार सूचीमा राखिएको छ’ भट्टले भने ‘फेरि संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा पनि शिक्षालाइ राखिएको छ ।’
यही कारणले शिक्षा क्षेत्रमा कसले के काम गर्ने भन्ने अन्यौल भएको मुख्यमन्त्री भट्टले बताए । त्यसैले प्रदेश सरकारले विद्यालयमा भौतिक पूर्वाधार मात्रै निर्माण गरिरहेको उनको भनाइ छ ।
मुख्यमन्त्री भट्टले अबको शिक्षा बजारको आवश्यकता अनुसार हुनुपर्नेमा जोड दिए । ‘अब परम्परागत शिक्षा हैन, प्राविधिक शिक्षा चाहिएको छ’, भट्टले भने, ‘साधारण शिक्षा लिएको प्रमाण पत्र बोकेर नोकरीका लागि भौतारिनुपर्ने खालको शिक्षाले अब चल्दैन ।’
शिक्षा नोकरी पाउनका लागि मात्र नभएर व्यवसायिक बन्नका लागि पनि हो भन्ने सन्देश विद्यार्थीहरुलाई दिनुपर्ने उनी बताउँछन् । प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने कार्य अघि बढाएको भन्दै उनले भने, ‘प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, अहिले मुलुकमा प्राविधिक जनशक्तिको अभाव भएकाले प्राविधिक विश्वविद्यालय खोल्न लागिएको हो ।’
मुख्यमन्त्री भट्टले शिक्षा क्षेत्रमा विकास र व्यवस्थित गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताए । प्रदेश सामाजिक विकास मन्त्रालयको ५ करोड ७४ लाख ७२ हजार रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त भवन कक्षा सञ्चालनका लागि प्रयोग गरिने क्याम्पस प्रमुख डिलानन्द जोशीले बताए ।
प्रतिक्रिया 4