
काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक भएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले पुस्तककोे लोकार्पण गरे ।
पुस्तक फुर्के नामक कुकुरको आत्मकथा हो । ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने ।
कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए । ‘फुर्केलाई हामीलाई जनावरप्रति संवेदनशिल हुन सिकाउँछ’ उनले भने, ‘मानिसको कथा भएजस्तै प्राणीको पनि कहानी हुन्छ ।’
कप्तान खड्काले पुस्तकले पाठकलाई कुकुरप्रति स्नेही बन्न सिकाउने बताए । ‘कुकुर भनेको कुकुर मात्र होइन । यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन’ उनले भने, ‘कुकुरप्रति हाम्रो समाज सचेत छ जस्तो मलाई लाग्दैन ।’
गायक रिजालले सो अवसरमा सांगीतिक प्रस्तुति पनि दिएका थिए । कुकुरबाट मानिसले करुणा र मित्रताको भाव सिक्न सक्ने उनले बताए । पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।
खगेन्द्र अभिनित फिल्म ‘पानीफोटो’ हालै प्रदर्शनमा आएको थियो । समीक्षकले रुचाएको यो फिल्मको प्रचारप्रसारकै क्रममा उनले यो उपन्यास ल्याउने घोषणा गरेका थिए ।
तस्वीर : शंकर गिरी
प्रतिक्रिया 4