
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । शनिबार बेलुका सीटीसी मलस्थित सिने द सेफ हल पुगेर उनले सपरिवार फिल्म हेरेर मनोरञ्जन लिए ।
फिल्म हेरिरहँदा आफूलाई १ घण्टा ३६ मिनेट बितेको पत्तो नभएको बताउँदै उनले विद्यार्थी, अभिभावक र शिक्षकले फिल्म हेर्नू जरुरी रहेको बताए । पाँचवर्षपछि आफू हलमा आउँदा खुशि लागेको अनुभव उनले सुनाए ।
उनले भने, ‘मलाई फिल्मको समय बितेको पत्तै भएन । सायद म १५ वर्षसम्म पढाएको एउटा शिक्षक भएर पनि होला । फिल्मले गाउँले परिवेशलाई जीवन्त ढंगले उतारेको रैछ ।’
फिल्मले सामाजिक चित्रण धेरै राम्रोसँग गरेको बताउँदै सापकोटाले पात्रहरुको अभिनयको प्रशंसा गरे । ‘सबै पात्रहरुको अभिनय राम्रो छ । बहुआयामिक सन्देश यसले दिएको छ । मौलिक छ र अलिकति द्वन्द्वात्मक पनि छ । दिदीभाईको माया पनि छ, त्यहाँ संघर्ष पनि छ । मर्न तयार हुन्छ बरु मुना छाड्न तयार हुँदैन’ उनले भने ।
बच्चा र अभिभावकले फिल्म हेर्नुपर्ने सुझाव उनको छ । ‘यसले अन्ततः दिदीभाईको माया नै प्रधान बन्न पुग्छ । त्यसकारण यो सिनेमा बच्चा र अभिभावकले हेर्नुपर्छ । सहरिया परिवेशमा हुर्केकालाई त विशेषरुपमा यो सिनेमा हेर्न सिफारिस गर्छु किनभने फिल्म गाउँमै पुगेको छ । पाखापखेरा, खोच र सिमसार सबै उतार्न सकेको छ’ उनले भने ।
फिल्ममा क्यामेरासहितको स्पिरिट मिलेको बताउँदै सभामुखले गाउँले परिवेशमा अन्धविश्वास चित्रणको दृश्यले आफूलाई सबैभन्दा प्रभावित तुल्याएको बताए ।
‘ठ्याक्कै मेल नखाएपनि गाउँले परिवेशले मलाई धेरै आकर्षित गरे । यो सिनेमा सबैका लागि महत्वपूर्ण छ । यो फिल्म बच्चा, अभिभावक र शिक्षकका लागि बहुआयामिक सन्देश दिएको छ’ उनले भने, ‘मुख्य कुरा त सिक्ने र सिकाउने कुरा हो ।’
फिल्म निर्माता रामकृष्ण पोखरेल र निर्देशक सुजित बिडारीले पनि सभामुखसँगै हेरेका थिए । चौतर्फी समीक्षा राम्रो प्राप्त गरेको यो फिल्मले उच्च शिक्षा अध्ययन गर्न चाहने ग्रामिण बिपन्न किशोरीको संघर्ष र भोगाइको कथा भन्छ ।
प्रतिक्रिया 4