
२ असोज, काठमाडौं । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ ।
महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए ।
समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगु संक्रमितलाई झुल दिएको बताए । उनले भने ‘संक्रमितलाई टोकेको लामखुट्टेले अन्य बिरामीलाई टोकेर डेंगु नसारोस् भनेर झुल दिएका हौं । महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको छ । हामीले अक्सिजन प्लान्ट जडानका लागि पनि सहयोग गरेको थियौं ।’
ललितपुर महानगरका प्रवक्ता समेत रहेका महर्जनले अस्पताललाई थप सहयोग गर्न प्रक्रिया पनि थालेको जानकारी दिए । उनले पाटन अस्पतालमा ७७ वटै जिल्लाबाट उपचार गर्न आउने भएकाले यो अस्पताल सहयोगका लागि प्राथमिकतामा परेको बताए ।
अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगुको प्रकोप फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको बताए ।
पाटन अस्पतालका अनुसार केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको छन् । तीमध्ये धेरै उपचार गरेर फर्किने गरेका छन् । केहीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा डेंगुका एक सय भन्दा कम बिरामीले भर्ना भएर उपचार लिइरहेका छन् ।
प्रतिक्रिया 4