
२ असोज, काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको छ ।
आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो ।
उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर नटुंगिएको जानकारी दिए । उनका अनुसार सूची टुंग्याउन भोलि बिहान ७ बजे फेरि पदाधिकारीको बैठक बोलाइएको छ ।
निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।
पोखरेलका अनुसार माओवादीले यसअघि समानुपातिकबाट सांसद भइसकेका, हाल प्रत्यक्षका लागि सिफारिस भएका र हालै सम्पन्न स्थानीय तहको निर्वाचन लडेकालाई समानुपातिक सूचीमा नराख्ने भएको छ ।
प्रतिक्रिया 4