+
+

‘सुनकेशरी’को रुपमा मोहित त्यो कर्णाली

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १४:०८

२ असोज, काठमाडौं । तनहुँका सागर पाण्डेले पहिलोपटक नाटक हेरेका थिए ।

सिमसिम पानीमा भिज्दै तनहुँको दमौलीबाट ४० जना साथीसँगै करिब दुई घण्टाको यात्रा गरी पोखरा थिएटरको गन्धर्व नाटकघर पुगेका थिए ।

पाण्डेसँगै दमौलीबाट गएका दर्शक पनि नाटक हेर्नका लागि बसे । नाटक सुरु भयो । चारैतिर कालो पर्दा, बीचमा एउटा खम्बा राखिएको थियो । त्यो खम्बाको टुप्पोमा त्रिशुल थियो । खम्बाको मुनि एक जना महिला बसेर पूजा गरेको दृष्यले पाण्डे लगायत सबै दर्शकको ध्यान खिच्यो । सबैलाई चासो भयो अब के हुन्छ ? नाटकको सुरुवातमै पाण्डेको पनि मनमा कैतुहलता भयो । पहिलो पटक नाटक हेर्न पुगेका पाण्डे निकै उत्साहित देखिए ।

नाटकमा पार्वतीको भुमिकामा सुजिता सिवाकोटी थिइन । उनकै आडमा जामामा सजिएर नाटकका पात्रहरु उभिएका थिए । हातमा लौरो समेत लिएर बसेका उनीहरु हुड्के नाचको हुड्काबाजीसँगै नजिकबाट प्रत्यक्ष संगित बजेपछि सुरु भयो ‘सुनकेशरी’ ।

नाटक भन्ने सुनेको तर नाटक घरमा गएर पहिलोपटक नाटक हेरेका पाण्डेलाई निकै चाँसो भयो अब के के हुन्छ । नाटक हेरेपछि उनले भने, ‘पहिलो पटक नाटक हेरे, हलमा गएर चलचित्र हेरेको भन्दा छुट्टै हुँदो रहेछ । यसले हाम्रो नेपाली संस्कार, संस्कृति र मौलिकतालाई झल्काउँदो रहेछ ।’

कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित थियो ‘सुनकेशरी’ नाटक । ‘सुनकेशरी’ले आफ्नो सुन्दरताका कारण भोग्नुपरेको संघर्ष तथा अनुभव नाटक मार्फत आकर्षक ढंगले देखाइएको थियो । रासकोटे राजा साइमल शाही र सिञ्जाका विक्रम शाही, नातामा दाजुभाइ भए पनि एकअर्काका कटट्र शत्रुका रुपमा नाटकमा प्रस्तुत गरिएको छ । उनीहरुबीचको शत्रुताको मुख्य कारण ‘सुनकेशरी’को सुन्दरता हो ।

दुश्मनी र सुन्दरताले भरिएकोे यही नाटकले सुरुमै समर्थनको ताली पायो । कर्णालीको सांस्कारिक माला लगन गाउन सिपालु ‘सुनकेशरी’ आफ्नो रुप र केशका कारण समेत चर्चामा थिइन् । सोही कारण उनलाई विवाह गर्न चाहने धेरै थिए । ‘सुनकेशरी’का फुपुका छोरा प्रजापति पनि उनलाई मनपराउँछन् । संस्कारकै कारण ‘सुनकेशरी’ आफूलाई हक लाग्ने उसको ठहर थियो । यी विषयलाई नाटकमा निकै सुन्दर र आकर्षक रुपमा प्रस्तुत गरिएको थियो ।

‘सुनकेशरी’ भने प्रजापतिलाई मन पराउँदिनन् । सुन्दर ‘सुनकेशरी’लाई आफ्नो बनाउन खोज्नेमा राजाहरु समेत थिए । छिनासिंहका राजा र रास्कोटका राजा मामाचेला हुन् । उनीहरु पनि ‘सुनकेशरी’ प्रति आर्कषित थिए । ‘सुनकेशरी’ले दुई मध्ये दाजुलाइ रोज्छिन्, र दरबार जान्छिन् । नाटकमा यसपछि समानान्तर रुपमा दुईवटा यात्राहरु देखिन्छन् । यता उनका फुपुका छोरा प्रजापति ‘सुनकेशरी’ आफूले पाउनुपर्ने भन्दै तड्पिन्छन् । ‘सुनकेशरी’लाई फर्काएर ल्याउने प्रण गर्दै प्रजापति पनि दरबारतर्फ गएको दृश्यलाई नाटकमा कलात्मक रुपमा प्रस्तुत गरिन्छ ।

‘सुनकेशरी’ आफ्नो सुन्दरताका कारण अनकौं परिस्थितिहरुको सामना गर्नुपरेको नाटकमा देखाइन्छ । फुपुका छोरा प्रजापतिको अर्को यात्रा भने ‘सुनकेशरी’लाई जसरी भए पनि फर्काएर घर ल्याउने हुन्छ । यी दुबै यात्राहरु एउटा मिलनविन्दुमा पुगेपछि नाटकको कथा टुङ्गिन्छ ।

कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित यो नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन् । ‘सुनकेशरी’ले आफ्नो सुन्दरताका कारण भोग्नुपरेको संघर्ष तथा अनुभव नाटक मार्फत आकर्षक ढंगले देखाइएको छ । नाटकमा प्रयोग गरिएको द्वन्द्वले नाटक हेर्ने दर्शकको ध्यान खिचिरहन्छ । यसको लागि प्रजापतिले गरेको मेहनत नाटकको महत्वपूर्ण अंग हो ।

प्रजापतिको भुमिका निभाएका खगेन्द्र साउदले दर्शकलाई आफ्नो प्रस्तुतिमार्फत ध्यान खिच्न सफल भएका थिए । उनले आफ्नो पात्रलाई जिवन्तता प्रदान गर्न केही जोखिम मोलेका छन् । नाटकमा प्रत्यक्ष संगीतको प्रयोग गरिएको छ । जुन संगीतले दर्शकलाई रमाइलो अनुभूति गराउँदछ । समग्रमा एक युवतीले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । कथाको मुख्य पात्र ‘सुनकेशरी’ बनेकी परिक्षा लिम्बुले आफ्नो भूमिकालाई न्याय गरेकी छिन् ।

नाटकका निर्देशक राजन खतिवडाको ‘सुनकेशरी’ नाटक पहिलो निर्देशन होइन । उनले थुप्रै नाटकमा काम गरे । तर मन खाएको कारण यो नाटकलाई उनी पहिलो र अन्तिम नाटक भन्छन् ।

त्यसोत यो नाटक पहिलो पटक मञ्चन भएको होइन् । १० वर्ष अगाडि मञ्चन गर्दाको नाटक र अहिलेको नाटकमा केही परिवर्तन गरिएको छ । केही गीत तथा कोरसका मुभमेन्ट थपिएका छन् । अहिले पहिला भन्दा केही चुनौती थपिएको छ । श्रोत साधनको कमीले केही सिमामा नाटकलाई बाध्नु भने परेको आभाष नाटक हेर्दा गर्न सकिन्छ । १ घण्टा २५ मिनेट अवधिको यो नाटक जे सुविधा छ त्यसलाई भरपुर प्रयोग गरेर काम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?