
२ असोज, विराटनगर । प्रदेश १ मा आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् ।
प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका थिए । यो सात वटै प्रदेशको तुलनामा धेरै हो ।
प्रहरीका अनुसार प्रदेश १ मा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७४–०७५ मा प्रदेशमा एक हजार एक सय २० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २ सय ३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरे ।
गत आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका थिए । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी एक हजार पाँच सय १६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा प्रदेश १ मा मात्रै ६ हजार ७०३ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या बढेपछि आइतबारबाट अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बिहान विराटनगरको रोड शेष चोकबाट वृहत् र्याली निकालिएको छ ।
प्रतिक्रिया 4