
ऐतिहासिक सन्दर्भ र घटनाक्रमलाई स्मरण गरेर कुराकानी सुरु गरौं। राणातन्त्र अन्त्य पश्चातको साढे सात दशक बित्यो। यो बीचमा देशमा प्रजातन्त्र, पंचायत, बहुदल र गणतन्त्रका अनेक आन्दोलन, उथलपुथलहरू भए।
पटक–पटक संविधान लेखियो, फेरियो। तर अझै नेपालमा आमूल परिवर्तनको तिर्खा मेटिएकै छैन। निश्चय नै देशमा भएका पटक–पटकका आन्दोलनहरूले नागरिकका राजनीतिक अधिकारहरूको सुनिश्चितता त गरे तर नागरिकको आर्थिक, सामाजिक जीवन देखिने गरी परिवर्तन हुनै सकेन।
यसैकारण, व्यवस्था परिवर्तनसँगै आउनुपर्ने खुसी र सन्तुष्टि हाम्रो लागि सपना जस्तै भयो। त्यसैले अहिले देशमा असन्तुष्टि तीव्र छ। त्यही असन्तुष्टिका जगमा अहिले नयाँ राजनीतिका प्रयत्नहरू भइरहेका छन्।
मुख्यतः नागरिक असन्तुष्टिलाई नागरिक आशामा बदल्ने राजनीतिक प्रयत्नका लागि वैकल्पिक राजनीति वा नयाँ राजनीतिका प्रयत्नहरू भइरहेका छन्। वस्तुतः वैकल्पिक राजनीति या नयाँ राजनीति मुख्यतः यी असन्तुष्टिहरूको सही कारण पत्ता लगाई नागरिकको रोजगार, शिक्षा, स्वास्थ्य, पहिचान र शान्ति जस्ता आकांक्षा पूरा गर्ने राजनीति हो।
यो अर्थमा वैकल्पिक चिन्तन केवल राजनीतिक प्रणाली र अर्थतन्त्रको सवाल मात्र होइन। यो आत्मसम्मान साथ बाँच्न पाउने सपनाहरूको अभिव्यक्ति र सामाजिक सार्वजनिक चिन्तनको नवीन प्रयोग पनि हो। यो अर्थमा वैकल्पिक राजनीति आजको ऐतिहासिक आह्वान हो। यो नयाँ राजनीतिको खोजी हो।
कस्तो हुनुपर्छ वैकल्पिक राजनीति ? वा त्यसको मुख्य कार्यभार के हो ? वैकल्पिक राजनीति मूलतः राष्ट्रलाई विद्यमान असुविधा र अन्योलहरूबाट सुविधा र स्पष्टतातर्फ पुर्याउन, पुरातनबाट आधुनिकतातर्फ लैजाने यन्त्र बन्नुपर्दछ। राजनीतिलाई पेशा भन्दा पनि सेवाको रूपकमा बुझेर संगठित भएका परिणाममुखी राजनीतिको आवश्यकता बोध गर्ने सबै अभियानले अतिवादबाट समाजलाई मध्यमार्गतर्फ डोर्याउन सक्नुपर्दछ।
हामी विविधता भएको समाजमा छौं। फरक भूगोल र फरक सामाजिक संरचनाहरूलाई सम्पत्ति मान्नुपर्दछ। फरक विचार र फरक चेतनाहरूले समाजलाई थप लोकतान्त्रिक बनाउन पनि मद्दत गर्दछ। आफ्नो चेतनाको परिधिभित्रको बुझाइले स्वाभाविक रूपमा समूहको, अभियानको रूप लिन्छ।
त्यसले आफ्नो देश र समुदायको रक्षा गर्न समयसापेक्ष राजनीतिक मुद्दामा ध्यान केन्द्रित गर्छ। यस्तै समयसापेक्ष विचार समूह र अभियानले राजनीतिक कार्यभार समेत लिनुपर्दछ। ‘नागरिकको अवस्था परिवर्तन’ मूल ध्येय भएका सबै विचार समूहले यही उद्देश्यलाई नै विचार मानेर संगठित हुनुपर्दछ।
समाजमा कम्युनिस्टहरू वर्गसापेक्ष न्याय खोज्छन्, जातीय संकीर्णतावादीहरू जातसापेक्ष न्याय भन्दै इतर विचारका निर्धाहरूमाथि भएका अन्यायलाई वैध मान्छन्। क्षेत्रीयतावादीहरू क्षेत्रको वकालत र त्यसको परिपूर्ति नै सामाजिक न्यायको मानक मान्छन्।
बाँकी सुधारवादीहरू यथास्थितिको विरोध त गर्छन् तर त्यसलाई सार्थक निष्कर्षमा पुर्याउने बेलामा आफ्नै सिद्धान्तहीनता, राजनीतिक आदर्शविहीनताले उनीहरूलाई शक्तिकेन्द्रको वरिपरि केन्द्रित गरेको हुन्छ।
यथास्थितिबाट माथि उठ्नु भनेको विगतको ज्ञान र भविष्यप्रतिको चिन्तन हुनु हो। अतिवादहरूबाट समाधानकेन्द्रित हुनु हो। वैकल्पिक राजनीतिको वैचारिकी यिनै परिस्थितिहरूको बीचबाट विकसित हुने हो। यही वैचारिकी अनुसारको कार्यान्वयन पक्ष भएन भने बनेको शक्ति पनि शक्ति केन्द्र र बिचौलियाहरूकहाँ पुगेर विसर्जन हुने खतरा हुन्छ।
यो अर्थमा वैकल्पिक राजनीतिका विगत अनुभवहरूलाई पनि नयाँ राजनीतिको सुरुवात गर्नेहरूले आत्मसात् गर्नु आवश्यक हुन्छ। किनभने आजको वैश्विक युगमा अनुभवहरू कसैका निजी हुँदैनन्। साझा हुन्छन् र एकअर्काका अनुभवहरूबाट सिक्दै अगाडि जान सबैलाई छुट छ।
अतः वैकल्पिक वा नयाँ राजनीतिले आजसम्म भुईंमान्छेका समस्या समेट्ने प्रयत्न गर्यो। त्यो राम्रो कुरा थियो। यसले एकाध व्यक्तिले बाँचुञ्जेल नेतृत्व गर्ने एकाङ्गी प्रणालीलाई प्रश्न गर्यो। यसले राष्ट्रिय मुद्दामा चिन्तनको स्वरूप ग्रहण गर्ने सामर्थ्य राख्यो। तर केही व्यक्तिका कारण वैकल्पिक राजनीतिको भाष्यलाई तोडमोड गरेर समय, काल, परिस्थितिलाई दोष थुपार्दै व्यक्तिगत स्वार्थका आडमा वैकल्पिक राजनीतिलाई विसर्जनको बाटोमा पुर्यायो। यो पाठलाई नयाँ राजनीति गर्नेहरूले अवश्य नै बुझ्नुपर्छ र सिक्दै अगाडि जानुपर्छ।
मुख्य कुरा के भने, वैकल्पिक पार्टी वा विवेकशील पार्टीभित्र मार्ग परिवर्तनले दासप्रथाको अवशेष र रैती बन्न रूचाउने प्रथा बाँकी नै रहेको झल्काउँछ। मान्छेले खोजिरहेको वैकल्पिक चिन्तन माटो, पानी, पर्यावरण र मानव सभ्यता जस्ता विषयवस्तुको सापेक्षतामा युग–युगसम्म काम लाग्ने हुनेछ।
वैकल्पिक राजनीतिले दिने विकल्प कार्यनीति अल्पकालिक नहोस् जो सीमित अवधि वा समय मात्र काम लागोस्। बुद्धको शान्तिवादी चेतनाले झैँ हजारौं वर्षसम्म काम गर्ने होस्। तर त्यस्तो भएन। यसले पश्चगमनको यात्रा थाल्यो। नयाँ राजनीति गर्नेहरू पनि पछाडि नै हिंड्ने हो भने नयाँ राजनीतिको कुरा गर्नु के अर्थ ?
मार्क्सवाद या बुद्धवाद दुवैले समाजलाई प्रेरणा दिइरहेकै छ। नैतिकताको मूल्यसहितको समाज, काल, परिस्थितिमा बुद्धवचनले काम गरेको छ भने नैतिकताको मूल्यबोध हराएको स्वार्थी समाजमा मार्क्सको दर्शनले काम गरेको छ।
यद्यपि यी दुईवटै आदर्श दर्शनले सामाजिक सापेक्ष महत्त्व बोकेको र सापेक्ष स्थान ओगटेकै छ, किनकि यी दुईवटै रणनैतिक महत्त्वको दर्शन हुन्। हरेक देशका संविधान परिवर्तन, सानादेखि ठूलासम्म आन्दोलनहरूको मर्म, त्यसबाट हुने सरकार, सत्ता वा व्यवस्थाका परिवर्तनहरू सबै यसको तुलनामा कार्यनैतिक विकल्पहरू हुन्।
वैकल्पिक वा नयाँ राजनीतिक चिन्तनले केवल राजनीतिक प्रसङ्ग र सत्ताको छिनाझपटीमा सीमित रहँदैन। विज्ञानमा आउने वैकल्पिक चिन्तनले समाजलाई नयाँ अनुसन्धानतिर डोर्याउँछ! प्रविधिमा आउने नयाँ चिन्तनले समाजलाई नयाँ नयाँ वस्तुको आविष्कार गर्न मद्दत गर्छ ! श्रम सीपमाथि आउने नयाँ चिन्तनले समाजलाई कला संस्कृतिको जगेर्ना मात्रै गराउँदैन बरु सामाजिक अग्रगतिलाई समेत यथोचित न्याय दिलाउँछ।
विज्ञान प्रविधिको विकासलाई सार्थकता दिन्छ भने, राजनीतिमा देखापर्ने वैकल्पिक चिन्तनले यी सबै कुराको यथोचित व्यवस्थापनका साथै देश, काल, परिस्थितिको माग मुताबिक प्रयोग गर्ने र सामाजिक आवश्यकताहरूको नयाँ खोजी गर्न सिकाउँछ। अन्यथा यसो नगर्ने राजनीति केको वैकल्पिक, केको नयाँ ?
बुझ्नुपर्ने कुरा के भने, राजनीतिक समस्याको समाधान निरपेक्ष हुँदैन समयसापेक्ष हुन्छ। विकल्प आफैं निर्विकल्प रूपमा कहिल्यै रहँदैन त्यो पनि विकल्पहरूको लामो ताँतीमा असल मध्य असल चयन गर्ने हो।
समय गतिशील छ, समाज गतिशील छ, समस्या र समाधानहरू पनि गतिशील नै हुने कुरा नै प्रगतिवादी मान्यता हो। यदि कसैले एउटै कुरालाई सधैंको लागि निरपेक्ष विकल्पको रूपमा प्रस्तुत गर्छ भने त्यसले समय, समाज वा वस्तुको गतिशीलतालाई नबुझेको वा बुझपचाएको ठहर्छ।
नेपाली राजनीतिमा हाल रहेको कलुषित आचरणलाई चिर्न विभिन्न कोणबाट विकल्प प्रस्तुत भइरहेको छ। त्यसैले उक्त तीन विकल्पमध्ये सर्वोत्तम विकल्प छान्ने र लागू गर्ने जिम्मेवारी आम नेपालीको हुन आउँछ।
पहिलो, विकल्प जनजागरण तथा सुशासन अभियानहरू तथा दबाव समूहको सामूहिक प्रयत्न हो। यसले लोकतन्त्र र हाम्रो संवैधानिक संरचनामा देखिएका समस्याको समाधान खोज्नेछ। राजतन्त्र ल्याउनु वा तानाशाहको खोजी गर्नु यो व्यवस्थाको विकल्प होइन न त मौलिक र नयाँ एजेण्डा नै मान्न सकिन्छ। प्रतिगमन कुनै शर्तमा पनि वर्तमान व्यवस्थाको विकल्प बन्न सक्दैन। नागरिक समाज र दबाव समूहको सक्रियता वैकल्पिक तथा नयाँ राजनीतिको आधार बन्न सक्छ।
दोस्रो, हालै केही नयाँ राजनीतिक पार्टी खोलेकाहरूले आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्न लालायित छन्। तथापि उनीहरूको वैचारिकी नै विचार ठूलो कि देश भन्ने व्यर्थको विवादमा छ। जनताको परिवर्तनबाट पश्चगमनतर्फ लैजाने विचार र हर्कतले जनतालाई निराशा मात्र दिन्छ। विवेक दिंदैन उत्तेजना मात्र भर्छ।
लोकतन्त्रको बीचमा आएका समस्या समाधान अझ बढी लोकतन्त्र अभ्यासबाट हुन्छ। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो। समस्याको मुहानमाथिको प्रहार धार परिवर्तनबाट होइन, वैकल्पिक उपायहरूको खोजीबाट हुन्छ। हाम्रो लोकतन्त्रलाई थप परिणाममुखी र समृद्ध बनाउन केही उपायको छलफल यहाँ वाञ्छनीय हुन्छ।
१. समतामूलक समृद्धि
जात–जाति, भाषिक समुदाय र सम्प्रदाय, धर्म–संस्कृति, अल्पसंख्यक तथा सीमान्तकृत समुदाय आदिको लागि मुखले होइन व्यवहारमै प्रत्याभूति गर्न सकिने गरी समतामूलक समृद्धिको लागि योजना बनाउनु आजको आवश्यकता हो। समृद्धिको कोरा रटानले सबैका लागि र न्यायमूलक प्रगति हासिल गर्न असंभव छ।
२. समानुपातिक समावेशिताका लागि सहभागितामूलक लोकतन्त्र
७० वर्षको कठोर संघर्षपश्चात् हामीले प्राप्त गरेको उपलब्धिले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा त पुर्याएको छ, तर लोकतान्त्रिक अधिकार आम जनताले प्रत्याभूत गर्न पाएका छैनन्।
त्यसैले सीमान्तकृत समुदाय र राज्यको मूल प्रवाहबाट बहिष्कृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनको लागि केवल औपचारिक लोकतन्त्रबाट समानुपातिक समावेशी विधिसहितको पूर्ण लोकतन्त्रमा पुर्याउनु छ।
३. स्वाधीनता र सार्वभौमिकता
राजनीतिक पार्टीहरूले देशलाई अस्थिर बनाउँदै विदेशीको हातबाट आफू परिचालित भए पनि दोष अन्यलाई दिंदै राष्ट्रियताको नक्कली बिम्व खडा गर्दै आम नागरिकलाई ढाँट्दै आए। त्यसैको परिणाम आज हामीले देशलाई स्वाधीन बनाउन सकिरहेका छैनौं। देशको सिमानामाथि बेला–बेलामा दक्षिणतिरबाट वैध–अवैध ढङ्गले आक्रमण हुने गरेको छ। सरकारी पार्टीहरूमा लाचारी देखिन्छ। विपक्षमा बस्दा राष्ट्रियता सम्झने सत्तामा बस्दा बिर्सने बानी सबैजसो सत्ताधारी पार्टीहरूमा लागेको छ। त्यसको अन्त्य गरी देशको सार्वभौमिकतालाई जोगाउँदै आम नागरिकलाई स्वाधीन बनाउने दिशातिर आम राजनीतिक प्रवृत्ति केन्द्रित गरिनुपर्छ।
४. सुशासन र सदाचार
देशको राजनीतिक सत्ता भन्दा प्रशासनिक सत्ता स्थायी सत्ताको रूपमा कायम रहेको छ। यसको शुद्धताले आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन गर्न धेरै भूमिका खेल्न सक्छ। तर हामीकहाँ प्रशासनिक भ्रष्टाचार र अनियमितता यति धेरै चुलिएको छ कि महिना दिन भ्रष्टाचार रोक्ने हो भने वर्ष दिनको विकास खर्च पुर्याउन सकिने प्रक्षेपण गरिरहेको छ।
त्यसैले देशको दिशा बदल्न आम नागरिक सदाचारी बन्ने र प्रशासनिक यन्त्र सुशासित बन्नुपर्ने आजको आवश्यकता हो। वैकल्पिक चिन्तनको थालनी यहाँबाट हुनुले वर्तमान सामाजिक अन्तर्विरोधहरूको हल हो।
५. समुन्नत लोकतन्त्र
यति शर्त पूरा भइसकेपछि नागरिककेन्द्रित समाजवाद र उदार पूँजीवादमा विश्वास राख्नेहरूको अग्रगामी मध्यमार्गी शक्तिले समुन्नत लोकतन्त्र संस्थागत गर्दछ। यस किसिमको लोकतन्त्र भएको राज्यले आम नागरिकको सही र सहभागितामूलक प्रतिनिधित्व गर्ने क्षमता राख्दछ। आखिर नयाँ राजनीति भनेको यही त हो। यसर्थ नयाँ राजनीति कुनै लहड वा व्यक्तिगत सत्ताको तिर्सना हैन, यो युग बदल्ने प्रयत्न हो।
प्रतिक्रिया 4