२ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा कीर्तिमानी गोलकर्ता स्ट्राइकर सावित्रा भण्डारी अस्वस्थताका कारण श्रीलंकाविरुद्ध खेल्न नसक्ने भइन् । प्रशिक्षक कुमार थापाले रश्मिकुमारी घिसिङलाई अवसर दिए ।
उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो रोजाइमा पर्न नसकेकी रश्मिले सावित्राको अभाव महसुस हुन दिइनन्, डेब्यू गोल गरिन् । नेपाल समूह विजेता बनेर सेमिफाइनलमा पुग्यो ।
गोलमेसिन सावित्रा पूर्ण फिट भइसकेकी थिइनन्, सेमिफाइनलमा भारतसँग खेल्नुपर्ने भयो । भारत मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसले हरेक पटक नेपाललाई रोकेको थियो । पहिलो संस्करणदेखि नै फाइनलमा नेपाललाई रोकेको भारतले सन् २०१६ मा त सेमिफाइनलबाटै घर पठाइदिएको थियो ।
एकातिर १२ वर्षदेखि भारतसँग हार्दै आएको नियतिलाई क्रमभंग गर्ने लक्ष्य, अर्कातिर सावित्राको अभावले नेपाली टोली दबावमा थियो । प्रशिक्षक कुमारले फेरि रश्मिलाई सेन्टर फरवार्डकै भूमिका दिए ।
रश्मिले भारतविरुद्ध त्यस्तै खेलिन्, जस्तो अपेक्षा टिम र रंगशालामा उपस्थित ७ हजार बढी दर्शक तथा फुटबलमा चासो राख्ने नेपालीले गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा १९ वर्षीया रश्मिले स्तरीय गोल गरिन् । अर्की उदीयमान खेलाडी प्रीति राईसँगको राम्रो तालमेलमा रश्मिले गरेको त्यही गोलको मद्दतमा नेपालले पहिलो पटक भारतलाई हरायो र फाइनलमा स्थान बनायो ।
अब भोलि (सोमबार) बंगलादेशलाई हराउन सके नेपाल पहिलोपल्ट दक्षिण एशियाली च्याम्पियन हुनेछ ।
एक गोल, एक इतिहास
शुक्रबार साँझ नेपालले इतिहास रच्यो । साफ इतिहासमा पहिलोपल्ट र समग्रमा दोस्रोपल्ट भारतलाई हराउनु नेपालका लागि विजेता बनेसरहको खुसी हो ।
आफ्नो गोलबाट इतिहास बनेको क्षण रश्मिका लागि करिअरकै सबैभन्दा रोमाञ्चक अनुभूति हो । आफ्नो अनुभूति साट्दै उनले भनिन्, ‘प्रशिक्षकले गर्नुभएको विश्वासका कारण मौका पाएँ र त्यही अवसरमा इतिहास रच्न सकें ।’

भारतसँगको खेलअघि कप्तान एञ्जिला तुम्बापो सुब्बा र प्रशिक्षक थापाले हौसला दिएका थिए । उमेर समूहमा भारतविरुद्ध गोल गरेकाले पनि होला, कप्तान एञ्जिलाले राम्रो टिमसँग खेल्दा नै हिरो बन्ने कि जिरो हुने भन्ने अवसर हुने भन्दै भनेकी थिइन्, मलाई तिमीमाथि विश्वास छ । उनी हिरो भइन् ।
भारतसँगको गोलपछि खुसी साट्दै उनी भन्छिन्, ‘मलाई हत्तपत्त सेलिब्रेट गर्न आउँदैन । तर यो गोल गर्दा आफैंलाई सम्हाल्न सकिनँ । सबै दिदीहरू आएर मलाई अँगालो हाल्नुभयो । मेरो आँखाबाट आँसु झरेको थियो ।’
पहिचान बनेको दिन
नचिन्ने मान्छेहरूले पनि आएर बधाई र शुभकामना दिए । रंगशाला, होटलदेखि सामाजिक सञ्जालबाट पनि धेरैले शुभकामना दिए । भारतविरुद्ध गोल गरेर नेपाललाई जिताउने केटी भन्ने पहिचान उनको फुटबल करिअरमा थपियो ।
एउटै गोलले फरक पहिचान बनेकोमा रश्मि दंग छिन् । ‘सबैजनाले नाम अगाडि आएपछि मात्र चिन्ने रहेछन्,’ उनले भनिन्, ‘यसले मलाई आगामी करिअरका लागि ठूलो प्रेरणा दिनेछ । फाइनलमा अझै राम्रो खेल्नुपर्छ भन्ने हौसला मिलेको छ ।’
तर काठमाडौंमै भएर पनि शुक्रबार बाबालाई रंगशालामा देख्न नपाउँदा उनलाई नमज्जा लागेको छ ।
बुवाको फोन बिग्रिएका कारण कुराकानी हुन पाएको छैन । बन्द प्रशिक्षणमा रहेको ७ हप्ताको समयमा उनले एक पटक मात्र बुवालाई भेटेकी छन् । ‘मैले देशका लागि इतिहास बनाउँदा बाबाले हेर्न पाउनु भएन’, रश्मिले भनिन् ।
अबको लक्ष्य उपाधि
रौतहटको चन्द्रपुर महिला फुटबलको उर्वर भूमि हो । राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, वर्तमान टिमकी अनिता केसीलगायत यहींका उत्पादन हुन् । रौतहटबाट राष्ट्रिय टिमसम्म पुगेका महिला फुटबलरको सूची लामै छ ।
त्यही रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ४ की स्थायी बासिन्दा हुन्, रश्मि । रश्मिका अनुसार आफू खेलाडी बन्नुमा उनको भन्दा बढी उनको बाबाको चाहनाको प्रतिफल हो । ‘सुरुमा फुटबलप्रति मेरो चाहना कम थियो । बाबाले सधैं मैदानमा लिएर जाने र खेल्न प्रोत्साहित गरेपछि यसैमा लत बस्न थाल्यो’ अनलाइनखबरसँगको कुराकानीमा रश्मि भन्छिन्, ‘मेरो बाबाले गर्दा नै म यहाँसम्म आइपुगेकी हुँ, फुटबल मेरो बाबाको सपना हो ।’

रश्मि फुटबलमा लागेको आठ वर्ष भयो । ११ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनले राष्ट्रिय महिला टिमको उमेर समूहका प्रतियोगिता खेलिसकेकी छन् ।
घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्न थालेपछि १७ वर्षको उमेरमा विभागीय टोली आर्मीले अनुबन्ध गर्यो । २०१८ मा यू–१८ खेलेकी उनले २०१९ मा उमेर समूहको खेल खेलेकी हुन् । भन्छिन्, ‘यस पटक हुने यू–२० सम्म खेल्न मेरो उमेरले दिन्छ ।’
अहिले भने उनको ध्यान भोलि सोमबार बंगलादेशसँग हुने फाइनल खेलमा छ । नेपालको लक्ष्य साफको उपाधि जित्ने हो । सबैजना मिहिनेत साथ लागेको भन्दै रश्मिले भनिन्, ‘हाम्रो लक्ष्य भनेको फाइनल जितेर नेपाललाई उपाधि दिलाउने हो ।’
राष्ट्रिय टिमबाट ५ खेल २ गोल
२०७८ भदौ २४ नेपाल भर्सेस बंगलादेश (मैत्रीपूर्ण)
२०७८ भदौ २७ नेपाल भर्सेस बंगलादेश (मैत्रीपूर्ण)
२०७९ भदौ २४ नेपाल भर्सेस भुटान (साफ महिला)
२०७९ भदौ २७ नेपाल भर्सेस श्रीलंका (साफ महिला) १ गोल
२०७९ भदौ ३१ नेपाल भर्सेस भारत (साफ महिला) १ गोल
प्रतिक्रिया 4