२ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । आज (आइतबार)को खेलमा ब्रेन्टफोर्डलाई ३-० ले हराएर आर्सनल शीर्ष स्थानमा फर्किएको हो ।
सिजनको छैटौं जितपछि ७ खेलबाट आर्सनलले १८ अंक जोडेको छ । समान खेलबाट १७ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ ।
ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन विलिया सालिबाले १७औं, गाब्रिएल जेससले २८औं र फाबियो भिएइराले ४८औं मिनेटमा गोल गरे ।
भिएइराले आर्सनलका लागि लिगमा पहिलो रोजाईँमा खेल्दा गोल गरेका हुन् ।
इथन न्वानेरीको कीर्तिमान
यसै खेलमा आर्सनलका १५ वर्षीय इथन न्वानेरीले प्रिमियर लिगमा डेब्यु गर्नै सबैभन्दा युवा खेलाडीको कीर्तिमान बनाए ।
सन् २००७ मा जन्मेका इथनले १५ वर्ष १८१ दिनको हुँदा ब्रेन्टफोर्ड विरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
उनी इन्जुरी टाइमको दोस्रो मिनेटमा भिएराको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इथनले लिभरपुलका हार्भे इलिओटको कीर्तिमान तोडेका हुन् । हार्भेले सन् २०१९ मा १६ वर्ष ३० दिन हुँदा फुलहम विरुद्ध डेब्यु गर्दै कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया 4